काठमाडौं । पशुपति शवदाह गृह मेशिनमा भ्रष्टाचार गरेको आरोप लागेका पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव मिलनकुमार थापा एक लाख धरौटीमा छोड्न अदालतले आदेश दिएको छ ।
कोषका सदस्य सचिवसहित १६ जनाविरुद्ध पशुपतिको शवदाह गृहको मेशिन खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएकोमा थापा सोमबार विशेष अदालतमा हाजिर भएपछि बयान र थुनछेक बहसपछि एक लाख धरौटी छोड्न अदालतबाट आदेश भएको हो ।
तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासमा सोमबार भएको बयान तथा थुनछेक बहसपछि एक लाख धरौटीमा छोड्न आदेश दिइएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए । अख्तियारले थापासहित १६ जनासँग १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ हानिनोक्सानी भएको भन्दै बिगो भराई पाउ भन्दै माग दाबी गरेको छ ।

