रुपन्देही । नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवम्् प्युठान जिल्ला इन्चार्ज सूर्य थापा प्युठानबाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य एकल उम्मेदवार सिफारिस भएका छन् भने प्रदेशका दुवै क्षेत्रमा एकल उम्मेदार सिफारिस भएका छन् । थापालाई पार्टीले पहिलोपटक प्रत्यक्ष निर्वाचनमा उठाएको हो ।
सोमबार बसेको जिल्ला समितिको चौथो पूर्ण बैठकले नेता थापाको एकल नाम सर्वसम्मत रुपमा सिफारिस गरेको जिल्ला सचिव माधव पौडेलले जानकारी दिए। पत्रकारिता पृष्ठभूमिबाट एमालेको पार्टी राजनीतिमा आएका थापा केपि शर्मा ओली प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकारको जिम्मेवारीमा थिए।
सचिव पौडेलका अनुसार प्युठानको प्रदेश प्रत्यक्षतर्फ क बाट पार्टीको लुम्बिनी प्रदेश सचिवालय सदस्य तुलसीराम शर्मा र ख बाट केन्द्रीय सदस्य एवं प्युठान जिल्ला सहइन्चार्ज हरिप्रसाद रिजालको एकल नाम सिफारिस गरेको हो । रिजाल २०७४ सालको निर्वाचनमा प्रदेश ‘क’ बाट चुनाव जितेर लुम्बिनी प्रदेशको सहरी तथा ग्रामीण बिकास मन्त्रीसमेत बनेका थिए ।