नेपाल राज्य संवाददाता
अर्घाखाँची– कुशल प्रशासक प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेको प्रभावकारी सेवा प्रवाहको कामले गर्दा गृह मन्त्रालयको कार्यसम्पादमा अर्घाखाँची जिल्ला प्रशासन कार्यालय देशका ७७ जिल्ला मध्ये दोस्रो नम्बरमा पर्न सफल भएको छ ।
मन्त्रालयको मुल्यांकन प्रतिवेदन अनुसार ९७ प्रतिशत अंक प्राप्त गर्दै दोस्रो नम्बरमा परेको हो । छिमेकी जिल्ला प्रशासन कार्यालय गुल्मी ९७।७५ प्रतिशत अंक प्राप्त गर्दै सर्वाेत्कृष्ट बन्न सफल भएको हो ।
कार्यसम्पादन सम्झौताका ६ वटा विषयगत क्षेत्रमा शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागूऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा वितरण तथा विकास निर्माण समन्वय र आर्थिक प्रशासन अन्तरगत ६८ वटा परिसुचक रहेका छन् । गृहसचिव र प्रमुख जिल्ला अधिकारीका बीचमा कार्यसम्पादन सम्झौतामा उक्त ६ वटा विषयगत काममा काम गरेर ७७ जिल्ला मध्ये दोस्रो बन्न सफल भएको हो ।
प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले काम सबै सहजै भएको बताए । दरबन्दी अनुसार कर्मचारीको पदपूर्ती नभएकाले सेवा प्रवाहमा अलि समस्या रहेको र विभिन्न विकायबाट कर्मचारी मगाएर काम गर्नुपर्ने बाध्यता रहेको उनले बताए । राष्ट्रिय परिचय पत्र निश्चित क्षमतामा मात्रै प्रवाह गर्न सकिने र माग धेरै भएकाले केही सेवाग्रहीलाई पालो कुर्नुपर्ने बताए ।