बाजुरा, साउन ८ – बाजुराको हिमाली गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता लिन जाँदै गरेका यात्रु चढेको जीप दुर्घटना हुँदा दुई वृद्धाको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार क्युडी गाउँबाट वडा कार्यालयतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ज ०३३८ नम्बरको जीप टुनीगडामा दुर्घटना हुँदा क्युडीकै ७६ वर्षीया विजा रोकाया र ७५ वर्षीया वाचा रोकायाको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा जीपमा सवार अन्य १५ जना यात्रु घाइते भएका छन्। घाइतेको उद्दारका लागि गाउँपालिकाले एम्बुलेन्ससहित स्वास्थ्यकर्मी पठाएको प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापाले जानकारी दिए।
प्रहरी निरीक्षक देवबहादुर चौधरीका अनुसार यात्रु धेरै भएका कारण कच्ची सडकमा जीप अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।

