अर्घाखाँची । मालारानी गाउँपालिका–५ स्थित श्री शान्ति माध्यमिक विद्यालय बाँगी आरुखोरमा शिक्षक सम्मान, छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
शैक्षिक सत्र २०८१ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार प्रदान गर्नुका साथै विद्यालयमा स्थापना गरिएका विभिन्न अक्षयकोषको व्याज रकमबाट नगद तथा जिन्सी छात्रवृत्ति वितरण गरिएको हो।
कार्यक्रममा माधव भुसाल, टिकाकर्ण स्मृति, मित्रलाल आचार्य, मेहरसिंह–रुक्मिणी, धनचित्र, मनिकला, चोपलाल आचार्य लगायतका अक्षयकोषहरूबाट वितरण गरिएको छात्रवृत्तिले विद्यार्थीहरूमा उत्साह थपेको विद्यालयले जनाएको छ। यसका साथै नेनाज फाउन्डेसनद्वारा समेत नगद छात्रवृत्ति प्रदान गरिएको थियो।
कार्यक्रमको विशेष आकर्षणको रूपमा विद्यालयमा लामो समय सेवा पुर्याएका पूर्व शिक्षकहरू ध्रुव बहादुर खत्री, शोभाखर चुँदाली, बसन्त प्रसाद अर्याल र नारायण बस्याललाई सम्मान गरिएको थियो।
कार्यक्रममा पूर्व राष्ट्रियसभा सदस्य तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र बहादुर खड्का, वडा कार्यवाहक अध्यक्ष हुम बहादुर महत, निवर्तमान अध्यक्ष शोभाकर भुसाल, नेनाज फाउन्डेसनका अध्यक्ष खिमानन्द पन्थीलगायतले शुभकामना मन्तव्य राखेका थिए।
विद्यालयका प्रधानाध्यापक मान बहादुर पाण्डेले अक्षयकोषदाताहरू, अभिभावक, समाजसेवी तथा शिक्षाप्रेमीप्रति आभार प्रकट गर्दै यस्ता कार्यक्रमले विद्यार्थीमा प्रेरणा, अनुशासन र प्रतिस्पर्धा बढाउने विश्वास व्यक्त गरे।
कार्यक्रम विद्यालयका सहायक प्रधानाध्यापक माधव प्रसाद पन्थीको स्वागत मन्तव्य, शिक्षक बसन्त बहादुर खड्काको सञ्चालन र सव–इन्जिनियर जय बहादुर रोकायको समन्वयमा सम्पन्न भएको थियो।