अर्घाखाँची, असार १० ।
मालारानी गाउँपालिकाले “कृषि, पर्यटन र सहकारीः समृद्ध मालारानी” मूल नारासहित आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रु. ६२ करोड ९२ लाख ५१ हजारको बजेट सार्वजनिक गरेको छ।
मालारानी गाउँपालिकाको १९ औँ गाउँसभाको दोस्रो बैठकमा उपाध्यक्ष दीपा पोखरेलले बजेट प्रस्तुत गर्दै स्रोत सीमित भए पनि आवश्यकता र जनचाहनाअनुसार सहभागितामूलक बजेट तयार गरिएको जानकारी दिइन्।
प्रस्तावित बजेटमध्ये रु. ४५ करोड ७१ लाख २९ हजार चालु खर्च र रु. १७ करोड २१ लाख २२ हजार पुँजीगत खर्चका लागि विनियोजन गरिएको छ।
कृषि, उद्योग र पूर्वाधारमा प्राथमिकता
गाउँपालिकाले कृषि तथा पशुपालन क्षेत्रमा १ करोड ७९ लाख ५० हजार छुट्याएको छ। प्राङ्गारिक मल कारखाना स्थापनाका लागि २५ लाख र किसानलाई बजारसम्म ढुवानी अनुदानका लागि १५ लाख विनियोजन गरिएको छ। मालारानी–८ मा मसला उद्योग स्थापना गर्ने योजना पनि बजेटमा समावेश छ।
पूर्वाधार निर्माणमा ६ करोड ३० लाख र सामाजिक विकासका लागि ७ करोड ३७ लाख ५१ हजार छुट्याइएको छ। स्वास्थ्य सेवामा दीर्घरोगी निःशुल्क औषधि, नवजात शिशु सेवा विस्तार र ल्याब प्रवर्द्धनका कार्यक्रम छन्। शिक्षा क्षेत्रमा ‘हाम्रो मालारानी’ स्थानीय पाठ्यक्रम विकास, छात्रवृत्ति, विज्ञान प्रविधि शिक्षा र शिक्षक तालिमलाई प्राथमिकता दिइएको छ।
पर्यटन प्रवर्द्धन र समावेशी कार्यक्रम
पर्यटन प्रवर्द्धनका लागि गाइड तालिम, पर्यटकीय नक्सा प्रकाशन र भगवती मन्दिर पूर्वाधार निर्माणका योजना अघि बढाइनेछ।
वडास्तरीय विकासमा १ करोड ५७ लाख ५० हजार, संस्थागत विकास र सुशासनतर्फ ८ करोड ५२ लाख ५० हजार, वन तथा वातावरण र विपद् व्यवस्थापनका लागि ५८ लाख विनियोजन गरिएको छ। महिला, दलित, अपांगता भएका व्यक्ति, वृद्ध, बालबालिका र सुकुम्बासी लक्षित कार्यक्रम समेत बजेटमा समावेश गरिएको छ।
आम्दानी स्रोतको व्यवस्थापन
गाउँपालिकाको आम्दानी स्रोतमा समानीकरण अनुदानबाट ११ करोड ३६ लाख ७२ हजार, राजस्व बाँडफाँडबाट ९ करोड ९७ लाख १६ हजार, सशर्त अनुदानबाट ३५ करोड ५१ लाख, विशेष अनुदानबाट ८७ लाख र आन्तरिक स्रोतबाट ३ करोड २३ लाख ६२ हजार ८०५ रहनेछ।
गाउँपालिकाका अध्यक्ष दलबहादुर भट्टराईले प्रस्तुत बजेटले समृद्ध मालारानी निर्माणतर्फ सार्थक पाइला चाल्ने विश्वास व्यक्त गरे। प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले योजनाहरू पारदर्शी, जवाफदेही र प्रविधिमैत्री प्रणालीबाट कार्यान्वयन गरिने उल्लेख गरे।
समृद्ध मालारानीका लागि योजनाबद्ध र जनउत्तरदायी बजेट गाउँपालिकाले अघि सारेको हो।

