अर्घाखाँची – नेपाली कांग्रेस अर्घाखाँचीले सन्धिखर्क नगर कार्य समितिका तत्कालीन नगर सभापति बाबुराम भुसाललाई पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा साधारण सदस्यता समेत नरहने गरी कारबाही गरेको जनाएको छ। कांग्रेस अर्घाखाँचीले २०८२ भदौ २९ मा भुसालमाथि कारबाही लागू भएको स्पष्ट गरेको हो।
सन्धिखर्क साना शहरी खानेपानी तथा सरसफाइ नगर आयोजना उपभोक्ता मूल संस्थाको अधिवेशन हुन लागेकाले यस चुनावलाई लक्षित गर्दै कांग्रेसले औपचारिक प्रेस विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा उपभोक्ताले नै अघि सारेका साझा उम्मेदवार युवराज खत्री (प्रेम) लाई नेपाली कांग्रेससहित अन्य राजनीतिक दलले पनि समर्थन रहने उल्लेख छ।
बुधबार बिहान १० देखि साँझ ५ बजेसम्म हुने मतदानको लागी कांग्रेस अर्घाखाँचीले मतदातालाई युवराज खत्री (प्रेम) नेतृत्वको समूहलाई समर्थन गर्न आग्रह गर्दै उपभोक्ताको हित र विकासका लागि सक्षम नेतृत्व आवश्यक भएको बताएको छ।
कांग्रेस अर्घाखाँचीका सभापति केशव श्रेष्ठ , सचिव अच्युत गौतमले हस्ताक्षर गरेर आज सार्वजनिक गरिएको विज्ञप्तिमा भनिएको छ “निष्कासित व्यक्तिद्वारा गरिएका भ्रमपूर्ण गतिविधिबाट प्रभावित नहुनुहोस्। लोकतन्त्र, पारदर्शिता र विकासको पक्षमा साझा उम्मेदवार युवराज खत्री (प्रेम) को प्यानललाई मतदान गरिदिन आग्रह गर्दछौं।”साधारण सदस्यदेखि निष्कासित गरिसकिएको व्यक्तिले आफू कांग्रेसमै रहेको भन्दै मतदातामा भ्रम फैलाइरहेको छ ।”
यता रास्वपा विप्लवसीको समर्थनमा स्वतन्त्र नागरिक समाजको तर्फबाट अध्यक्षमा उम्मेदवारी दर्ता गरेका बाबुराम भुसालले आफूलाई नेपाली कांग्रेस अर्घाखाँचीले चौतर्फी घेराबन्दी गर्दै गलत प्रचार गरेको आरोप लगाएका छन् ।“जेन्जी आन्दोलनमा समर्थन गरेपछि मैले तत्कालीन पदबाट राजीनामा दिएर बसेको हुँ। सन्धिखर्कबासीले बाबुराम भुसाललाई राम्रोसँग चिनेका छन्। राजीनामा गरिसकेको मान्छेले किन कांग्रेस हुँ भनेर मत माग्थ्यो र? कांग्रेसको बयानको कुनै अर्थ छैन। यो हारको मानसिकता हो।” उनले भने ।

