नेपाल राज्य संवाददाता
अर्घाखाँची– सन्धिखर्क नगरपालिका–५ बलेवाङका ४० जना कुमाल जातिका महिलालाई माटोको भाँडा बनाएर उद्यमी बनाइँदै छ । घरेलु तथा साना उद्योग कार्यालयले मंगलबार कुमाल गाउँमै पुगेर एक महिने सेरामिक्स सामग्री उत्पादन (माटोका भाँडा बनाउने) सीप विकास तालिमबाट महिलालाई स्वरोजगार बनाउने लक्ष्य लिएको छ ।
बलेवाङमा डेढ सय जतिको संख्यामा कुमाल समुदाय बसोबास गर्छन् । उनीहरुको पुख्यौली पेशा माटोका भाँडा बनाउने हो । पुख्यौली पेशालाई आधुनिकीकरण गर्दै बजारमा बिक्री हुने सामग्री उत्पादन आम्दानी गराउने रहेको छ ।
सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठले पुख्यौली पेशालाई परिवर्तन गरी बजारको माग अनुसार भाँडा बनाएर उद्यमी बन्नुपर्ने बताए । बलेवाङमा भाँडा बनाउने उपयुक्त माटो प्रयाप्त छ ।
‘हाम्रा वुवा बाजेले चिसो पानी खान घरमा माटोका गाग्री, हाँडीमा मकै भुट्ने गर्थे,’ उनले भने, ‘कुमालले डोकोमा बोकेर डुलाएर सामान बिक्री गरिन्थ्यो । अब पुरानो शैलीले होइन, बजारमा पाला, दही राख्ने भाँडा, घरमा सजावटका सामान, फुल राख्ने र खेती गर्ने भाँडा बनाएर आम्दानी लिनुपर्छ ।’ मकै भुट्ने हाँडी, पानी राख्ने घैटा पनि बिक्री हुने उनले बताए । सहरलाई चाहिने सामग्री बनाउन उनले आग्रह गर्दै जति उत्पादन गरेपनि नगरपालिकाले बजारीकरणको व्यवस्था गरिदिने बताए । ‘कुमाल समुदाय रैथाने पेशालाई अब व्यवसायीकरण गर्दै उद्यमी बनाउने लक्ष्य अनुसार नगरपालिकाले पनि सहयोग गर्छ,’ सन्धिखर्क नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले भने, ‘सन्धिखर्क बजार, हाटबजार सहित ठूला सहरमा पनि माटोका सजावट, फुल उत्पादन गर्ने सहितका सामग्रीको माग धेरै छ । हरेक घरबाट उद्यमी र स्वरोजगार हामी बनाउँछौं ।’
घरेलु कार्यालय प्रमुख दुर्गा न्यौपाने सीपलाई उत्पादन र उद्यमलाई रोजगारीमा जोड्ने लक्ष्य अनुसार नयाँ तरिकाले कुमाल समुदायलाई माटोका भाँडा बनाउन सिकाउन लागिएको बताइन । त्यसको लागि दुई जना प्रशक्षिक गुल्मीबाट आएका छन् । पूर्णरुपमा व्यवसायीक बन्ने, उद्योग दर्ता गरेरै उद्यमी बनाउने लक्ष्य रहेको छ ।
पहिचान रैथाने पेशालाई अब व्यवसायीकरण गरी सीपबाट आम्दानी, आत्मनिर्भर र स्वरोजगार बनाउने बनाइने उनले बताइन् । त्यसैले महिलालाई उद्यमी बनाउन प्राथमिकता दिइएको न्यौपानेले बताइन् । कार्यक्रममा सन्धिखर्क नगरपालिका-५ का वडाध्यक्ष ऋषव अधिकारीले तालिममा सिकेका सीपलाई व्यावहारमा उतार्नुपर्ने बताए ।
कार्यक्रम न्याैपानेकाे अध्यक्षयता, घरेलुु कार्यालयका कम्युटर अपरेटर हुमबहादुर विकको सञ्चालनमा सम्पन्न भएको थियोे ।