शोभाखर पन्थी, अर्घाखाँची-
जन्मदिनको अबसर पारेर सन्धिखर्कका एक युवाले आफूले पढेको विद्यालयलाई १ लाख ५० हजार रुपैयाँ नगद प्रदान गरेका छन् ।
सन्धिखर्क नगर पालिका वडा नं.-१ सियाले ,अर्घाखाँची निवासी प्रकाश पाण्डेले आफूले पढेको भगवती माध्यमिक विद्यालय कुर,शंखेटारीलाई आफ्ना वुवा आमा मार्फत १ लाख ५० हजार रुपैयाँको चेक प्रदान गर्नुभएको हो ।
हाल अध्ययनको क्रममा संयुक्त राज्य अमेरिकामा रहनु भएका इन्जिनीयर पाण्डेले भगवती माध्यमिक विद्यालय कुर,शंखेटारीमा कक्षा – ६ देखि १० सम्मको अध्ययन पुरा गर्नुभएको थियो । गुल्मी जिल्लाको धुर्कोट गाउँ पालिका वडा नं.-५ बस्तुमा २०४३ सालमा जन्मनु भएका उहाँ भगवती माध्यमिक विद्यालय बाट २०५८ सालमा एस.एल.सी.उत्तीर्ण हुनुभएको थियो । करीब दुई दशक यता सन्धिखर्कमा स्थायी बसोवास गर्दै आउनु भएका इन्जिनियर पाण्डेका वुवा आमा दुबैजना सामाजिक क्षेत्रमा क्रियासिल हुनुहुन्छ । उहाँका पिता डिलाराम पाण्डे र आमा गंगादेवी पाण्डे सन्धिखर्कका स्थापित सामाजिक तथा राजनीतिक व्यक्तित्वमा पर्नुहुन्छ । गंगादेवी पाण्डे शहिद शोभाखर धनन्जयकी बहिनी तथा जिल्लाकी चर्चित महिला नेतृ स्व. यमुना भुसालकी दिदी हुनुहुन्छ ।
सामाजिक तथा राजनीतिक परिवारमा जन्मनु भएकाले इन्जिनियर प्रकाश पाण्डे पनि सानो उमेर देखि नै सामाजिक काम गर्न रुचाउनु हुन्छ । बाल्यकाल देखि नै गरिब र दिनदु:खीको सेवामा समर्पित उहाँले धेरै बालवालिकाको भलाइको निम्ति सहयोग पुर्याउँदै आउनु भएको छ ।
इन्जिनियर पाण्डेले प्रदान गर्नु भएको रकम गंगादेवी नवप्रवर्तन कोष संचालन गरी सो रकम बाट आउने व्याज खोज तथा अनुसन्धानको काममा खर्च गरीने विद्यालयका प्रधानाध्यापक ध्रुबबहादुर खत्रीले जानकारी दिन। उहाँले पठन पाठनका साथै अतिरिक्त कुनैपनि क्षेत्रमा बिशेष दख्खल राखि समाजमा अनुकरणीय काम गर्ने विद्यालयमा क्रियासिल कुनै पनि व्यक्ति पुरस्कारको निम्ति दाबेदार हुनसक्ने बताउनु भयो ।
इन्जिनियर प्रकाश पाण्डेका पिता समाजसेवी डिलाराम पाण्डेले नयाँ काम गरेर समाजको अगुवाइ गर्नेलाई प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गरिने बताउनु भयो । उहाँले आफ्ना छोरामा सेवा भावका अतिरिक्त स्वदेशमा केही गर्न सकिन्छ भन्ने दृढ संकल्प र राष्ट्रभक्तिको भावना रहेको बताउनु भयो । उहाँले विद्यालयले रकमको सहिरुपमा सदुपयोग गर्नेमा आफू आसाबादी रहेको भन्दै आगामी दिनमा कोषमा रकम बढाउँदै लैजाने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।
भगवती माध्यमिक बिद्यालय कुर ,शंखेटारी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामबहादुर भुसालको अध्यक्षता , सन्धिखर्क नगर पालिकाका प्रवक्ता तथा वडा नं.-२ का वडाअध्यक्ष मोतिजङ्ग रायमाझीको प्रमुख अतिथ्यता र शिक्षक शोभाखर पन्थीको संचालनमा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य विष्णु ढुङ्गाना,विद्यालयका प्रधानाध्यापक ध्रुबबहादुर खत्री लगायतले मन्तव्य राख्दै पाण्डे परिवारले विद्यालयको चौतर्फी बिकासमा पुर्याएको योगदानको मुक्तकण्ठले प्रसंसा गर्नुभयो ।

