बुटवल, साउन ५ –
बुटवल–६ स्थित मैत्री पथमा ‘नागरिक मल्टीस्पेसिलिटी हेल्थ सेन्टर’ सञ्चालनमा आएको छ। हेल्थ सेन्टरको उद्देश्य रुपन्देहीसहित पश्चिम नेपालका विभिन्न जिल्लाका बिरामीलाई एकै ठाउँबाट सहज र गुणस्तरीय विशेषज्ञ सेवा उपलब्ध गराउनु रहेको छ।
एक कार्यक्रमकाबीच हेल्थ सेन्टरको औपचारिक शुभारम्भ गरिएको हो। अध्यक्ष मेघदेव पन्तका अनुसार बिरामीहरूको उत्कृष्ट उपचारका लागि नम्र व्यवहार, भरपर्दो ल्याब सेवा तथा सहुलियत मूल्यमा औषधिको व्यवस्था गरिएको छ।
एक करोड रुपैयाँभन्दा बढीको लगानीमा स्थापना गरिएको उक्त स्वास्थ्य संस्थामा विभिन्न रोग विशेषज्ञहरूले नियमित सेवा प्रदान गर्नेछन्।
वरिष्ठ फिजिसियन तथा रक्तरोग विशेषज्ञ डा. बिक्रम कार्की, बालरोग विशेषज्ञ डा. सन्तोष पोखरेल, मृगौला रोग विशेषज्ञ डा. जगदिश पाण्डे, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. शर्मिला शर्मा, हर्मोन तथा मधुमेह विशेषज्ञ डा. सुमन सिम्खडा, क्यान्सर रोग विशेषज्ञ डा. लोकेन्द्र कुँवर लगायतका विशेषज्ञहरूले उपचार सेवा दिनेछन्।
त्यस्तै, ल्याप्रोस्कोपिक शल्य चिकित्सक डा. नविन श्रेष्ठ, हाडजोर्नी तथा बाथ रोग विशेषज्ञ डा. सम्राट पराजुली, बालरोग विशेषज्ञ डा. जगदिश कुँवर, नाक-कान-घाँटी रोग विशेषज्ञ डा. देबेन्द्रराज बेलबासे, रेडियोलोजिस्ट डा. प्रशान्त आचार्य, डा. कुन्दन मरासिनी र डा. कबिराज भुसालले सेवा दिने अध्यक्ष पन्तले जानकारी दिए।
हेल्थ सेन्टरले भिडियो एक्स–रे, प्लास्टर, नेबुलाइजेसन, फार्मेसी, ल्याब सेवाका साथै बिरामीको घरमै गएर ल्याब नमुना संकलन तथा औषधिको होम डेलिभरी सेवा पनि सञ्चालन गर्ने बताइएको छ।
शुभारम्भको अवसरमा एक हप्तासम्म निःशुल्क ओपीडी सेवा, विशेषज्ञ डाक्टरबाट निःशुल्क परामर्श, प्रयोगशाला सेवामा २० प्रतिशत छुट, सुगर तथा कोलेस्ट्रोल परीक्षण निःशुल्क, प्रत्येक दिन ५ जनाको थाईराइड परीक्षण निःशुल्क, भिडियो एक्स–रेमा ५० प्रतिशत छुट लगायतका विशेष छुट प्रदान गरिनेछ।
सञ्चालनमा ल्याइएको यस हेल्थ सेन्टरमा अध्यक्ष पन्तसहित चार जना युवाको लगानी रहेको छ।
शुभारम्भकै दिन आयोजना गरिएको रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन गरिएको छ।

