नेपालराज्य संवाददाता
अर्घाखाँची– मंसिर ४ गते हुने संसदीय चुनावको लागि एमालेले प्रदेशसभा (क) बाट चेतनारायण आचार्यलाई एकल उम्मेदवार सिफारिस गरेको छ । एमालेका केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज आचार्यले २०७४ को चुनावमा कांग्रेसका विष्णुप्रसाद खनाल (मुस्कान) लाई १० हजार ६ सय १४ मतान्तरले पराजित गरेका थिए । आचार्यले २४ हजार ७ सय ५१ मत ल्याएर निर्वाचित भएका थिए । खनालले १४ हजार १ सय ३७ मत ल्याएका थिए । वाम गठबन्धनमा एमालेबाट उम्मेदवार आचार्यलाई माओवादी र राष्ट्रिय जनमोर्चाले सहयोग गरेका थिए । आचार्य लुम्बिनी प्रदेशको आन्तरिक तथा कानुन मन्त्री भए ।
एमालेभित्र बलियो खम्बाको रुपमा रहेका आचार्यले एमालेलाई पुनः प्रदेशसभा (क) मा एकल उम्मेदवार सिफारिस गरेको छ । २०७४ को जस्तो सहज यसपाली छैन । त्यतिबेला उनलाई सहयोग गरेका माओवादी र राजमो अहिले कांग्रेस सहितको ५ दलीय गठबन्धनमा आबद्ध छन् । गठबन्धनसित आचार्य एक्लै भिडनुपर्नेछ ।
गठबन्धनको भागवण्डामा प्रदेशसभा (क) कुन दललाई पर्छ अझै टुंगो छैन । केन्द्रमा गठबन्धनबीच छलफल जारी छ । कांग्रेसले प्रदेश सांसद निर्मला क्षेत्री, नेता ताराप्रसाद फुल्लेल, तारा श्रेष्ठ, हरि पौडेल लगायत उम्मेदवार सिफारिस गरेको छ ।
माओवादीले ठाकुरकुमार विक, पदम क्षेत्री र शोभाखर बञ्जाडेलाई उम्मेदवार सिफारिस गरेको छ । राजमोले सागर केसीको नाम एकल टुंगो लगाएको छ । राजमोले प्रदेशसभा (क) लाई आफुले पाउनुपर्ने बटमलाइन बनाएको छ ।