काठमाडौं । नेपाली सिनेमाको चर्चित अभिनेत्री रेखा थापाले २५ वर्षपछि म्युजिक भिडियोमा अभिनय गर्दै दर्शकमाझ धमाकेदार पुनरागमन गर्न लागेकी छन्। उनले गायक तथा अभिनेता प्रकाश सपुतको तीज गीत ‘नाइँ भनेसी नाइँ’ मार्फत आफ्नो म्युजिक भिडियो यात्रा दोहोर्याउने भएकी हुन्।
आज सोमबार सार्वजनिक गरिएको पोस्टरमा रेखा थापा दुर्गामाताको अवतारमा हातमा त्रिशुल बोकेर क्रोधित मुद्रामा देखिएकी छन्। पोस्टरमै दमदार लुकमा देखिन जसले भिडियोको दमदार कथावस्तु झल्काउँछ।
नयाँ गीत ‘नाइँ भनेसी नाइँ’ मा शब्द तथा संगीत प्रकाश सपुतकै रहेको छ भने स्वर समीक्षा अधिकारी र एलिना चौहानले दिएका छन्। गलबन्दी प्रोडक्सनका अनुसार, गीत आगामी साउन १६ गते सार्वजनिक गरिनेछ।
रेखाले म्युजिक भिडियोमा फर्कनुको कारण स्पष्ट पार्दै भनिन् –
“महिलाले ‘नो’ भन्न सिक्नुपर्छ भन्ने सन्देश बोकेको गीत हो यो। जहाँ नारीको सवाल आउँछ, त्यहाँ रेखा थापा उभिन्छ। समाजमा प्रभाव पार्ने गीत भएकाले लामो समयपछि म्युजिक भिडियोमा फर्कन निर्णय गरेँ।”
महिला हिंसा, अत्याचार र अन्यायविरुद्धको कथावस्तुमा आधारित भिडियोले यस तीजमा सशक्त सन्देश दिने अपेक्षा गरिएको छ।