अर्घाखाँची । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीको आगामी जिल्ला अधिवेशन नजिकिँदै जाँदा जिल्ला सभापति पदमा महिला नेतृत्वको चर्चा सुरु भएको छ। यसैबीच पार्टीकी सक्रिय नेतृ सीता पराजुलीले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेकी छन्।
बुधबार कुराकानीमा पराजुलीले संगठनलाई अझ बलियो, सक्रिय र जनतासँग प्रत्यक्ष रूपमा जोडिएको बनाउने आफ्नो मुख्य उद्देश्य रहेको बताइन्। उनले पार्टीका सिद्धान्त, मूल्य र उद्देश्यलाई जिल्लाका हरेक वडा तथा समुदायसम्म पुर्याउन आफू प्रतिबद्ध रहेको उल्लेख गरिन्।
पराजुलीले कार्यकर्ताको सम्मान, युवाको अर्थपूर्ण सहभागिता, सुशासन तथा जनउत्तरदायी राजनीतिलाई संस्थागत गर्ने विषयलाई आफ्नो नेतृत्वको प्रमुख प्राथमिकतामा राख्ने बताइन्। व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संगठनको हित, एकता र विकासका लागि काम गर्ने दृढ संकल्पसहित उम्मेदवारी दिएको उनको भनाइ छ।
उनले संगठनभित्र आपसी सहकार्य, विश्वास र जिम्मेवार नेतृत्वको वातावरण निर्माण गर्दै रास्वपालाई जिल्लामा थप प्रभावकारी र जनमुखी बनाउने योजना रहेको पनि स्पष्ट पारिन्।
आगामी जिल्ला अधिवेशनलाई लक्षित गर्दै सभापति पदका आकांक्षी नेताहरूले आफ्ना एजेन्डा सार्वजनिक गर्न थालेका छन्। यसक्रममा पराजुलीले संगठन सुदृढीकरण र जनतासँगको सम्बन्ध विस्तारलाई केन्द्रमा राख्दै नेतृत्वका लागि आफ्नो दाबी प्रस्तुत गरेकी हुन्।
जेठ २४ गते आइतबार हुने रास्वपा अर्घाखाँचीको सभापति पदका आकांक्षीहरुमा सहयोगि बि सि ,दिनेश सुनार (बिकल्प),कमल मरासीनी
,महेन्द्र कुँवर,बाबुराम घिमिरे (भुवन),प्रकाशचन्द्र आचार्य,नमराज पाण्डेय र बाबुराम भुसालको नाम आएको हो ।

