दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले मन्त्रिपरिषद् पुनर्गठन गर्दै नयाँ मन्त्रीहरूको जिम्मेवारी तोकेका छन्। नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम प्रदेश प्रमुखसमक्ष मन्त्रिपरिषद् पुनर्गठनका लागि सिफारिस गरिएको हो।
पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा (एमाले) बाट चार जना र जनता समाजवादी पार्टी (जसपा) बाट एक जना गरी पाँच जना नयाँ मन्त्रीलाई समावेश गरिएको छ। एमालेबाट अर्घाखाँचीका रामजी प्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ। त्यस्तै, तुलसीप्रसाद चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा डिल्लीराज भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी तोकिएको छ।
यस्तै जसपाका भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ। यसअघि उक्त मन्त्रालयको जिम्मेवारी जसपाकै आदेशकुमार अग्रवालले सम्हाल्दै आएका थिए। अग्रवालको स्थानमा अहिरलाई मन्त्री नियुक्त गरिएको हो। नवनियुक्त मन्त्रीहरूको शपथग्रहण जेठ २५ गते सोमबारका लागि तय गरिएको छ।
अर्घाखाँचीबाट प्रतिनिधित्व गर्ने रामजी प्रसाद घिमिरेले स्वास्थ्य मन्त्रालयको नेतृत्व सम्हाल्ने भएपछि जिल्लाको प्रतिनिधित्व प्रदेश सरकारमा थप बलियो बनेको छ। अब स्वास्थ्य क्षेत्रका नीति, योजना र सेवामा उनको भूमिका महत्वपूर्ण रहने अपेक्षा गरिएको छ।

