काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारले चाँडै नै निर्वाचनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरिरहेको बताएकी छन्।
उनले सोमबार नागरिक समाजका प्रतिनिधिहरूसँग छलफल गर्दै युवाहरूमा देखिएको असन्तुष्टि सम्बोधन गर्न सरकारले विशेष पहल गरिरहेको उल्लेख गरिन् ।
उनले भनेकी छन्, ‘उनीहरूको मन जित्न र निर्वाचनमा युवा सहभागिता बढाउनका लागि हामी निर्वाचन सम्बन्धी अध्यादेश र अन्य उपायमार्फत संरचनात्मक सुधारका कदमहरू चाल्दै छौँ। यसबाट उनीहरूको असन्तुष्टिको राजनीतिक सम्बोधन हुनेछ।’ जेनजी आन्दोलन गहिरो राजनीतिक असन्तुष्टिको अभिव्यक्ति हो भन्नेमा आफूहरू प्रस्ट रहेको पनि प्रधानमन्त्री कार्कीले बताइन् ।
‘जेनजी आन्दोलनलाई हामीले केवल कानुन व्यवस्थाको विषय मात्र मानेका छैनौँ । यो व्यवस्थाप्रतिको गहिरो राजनीतिक असन्तुष्टिको अभिव्यक्ति हो, जसको कारण कतिपय युवा पुस्ता नयाँ व्यवस्थाको भाष्यतर्फ आकर्षित भइरहेको जोखिम हामीले देखेका छौँ,’ उनले भनिन् । यस कारण अध्यादेश ल्याउने तयारी गरेको उनले प्रष्टीकरण दिएकी छन् ।

