नेपाल राज्य संवाददाता
अर्घाखाँची– कांग्रेस केन्द्रीय सदस्य डा. गोविन्द पोखरेलले मंसिर ४ को चुनावपछि गठबन्धकै सरकार बन्ने र सरकारको नेतृत्व कांग्रेसले नै गर्ने दावी गरे । उनले गठबन्धनमा कांग्रेसले एकसय सिट पाउनुपर्ने अडान रहेको बताए । उनले गठबन्धनले नै दुई तिहाई बहुमतले जित्ने बताए ।
‘सिट बाँडफाँडको लागि काठमाडौंमा छलफल निरन्तर चलिरहेको छ, १६ गतेसम्म टुंगिन्छ,’ प्रेस युनियनले सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा शनिवार बोल्दै पोखरेलले भने, ‘छलफलले टुंगोमा पुग्छ, सिट बाँडफाँडपछि गठबन्धनको साझा चुनावी एजेण्डा लिएर जनतासँग जान्छौं । प्रमुख एजेण्डा, शान्ति, स्थायित्व, विकास र समृद्धि हो ।’ स्थिर सरकार र जनताको विकासकै लागि चुनावपछि कांग्रेसकै नेतृत्वमा नयाँ सरकार बन्ने उनले बताए । कांग्रेसमा कस्को नेतृत्वमा सरकार बन्छ भन्ने पत्रकारको प्रश्नमा पोखरेलले भने, ‘संसदीय दलको नेता जो बन्छ, त्यही नै प्रधानमन्त्री बन्छ ।’ कांग्रेसकै नेतृत्वमा हरेक आन्दोलन क्रान्ति सम्पन्न भएकाले र गठबन्धन मध्येको सबैभन्दा ठूलो दल कांग्रेस भएकाले सरकारको नेतृत्व कांग्रेसकै हुने उनको कथन छ ।
‘अहिले ५छ दलीय गठबन्धन छ, अझै थपिन सक्छन्,’ योजना आयोगका पूर्वअध्यक्ष पोखरेलले भने, ‘सरकारको नेतृत्व गरेका एमाले अध्यक्ष केपी ओलीले देशलाई अस्थिरता, राजनीतिक अन्योलता र भूमरीमा धकेलेकाले ५ दल एकजुट भएर चुनाव लड्दैछौं । मुलुकलाई प्रतिगमनबाट जोगाउन र एमालेलाई पराजित गर्न नै ५ दलीय गठबन्धन गरेका हौं ।’ व्यवस्था परिवर्तन भयो, अब अवस्था परिवर्तन गर्न नै गठबन्धन भएको उनले बताए । ‘मेरो पनि प्युठानबाट प्रतिनिधिसभा सदस्यमा चुनाव लड्ने इच्छा छ,’ उनले भने, ‘चुनाव लड्न पाउने आशामा छु ।’