अर्घाखाँची । भूमिकास्थान नगरपालिकाले किशोरीहरूको स्वास्थ्य सुरक्षालाई केन्द्रमा राख्दै HPV खोप अभियान औपचारिक रूपमा सुरु गरेको छ। श्री विश्व माध्यमिक विद्यालय, पिपलनेटा भू.न.पा. ०१ मा आयोजित कार्यक्रममार्फत नगर प्रमुख झबिलाल थापाले भ्याक्सिन क्यारियर स्वास्थ्यकर्मीलाई हस्तान्तरण गर्दै अभियानको शुभारम्भ गर्नुभएको हो ।
वडा नं. ०१ का वडा अध्यक्ष गोपालप्रसाद खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख थापा प्रमुख अतिथि रहनुभयो। कार्यक्रममा प्रधानाध्यापक रेणुकान्त भट्टराई, स्वास्थ्य शाखा प्रमुख सुरेशप्रसाद गैरे, स्वास्थ्य चौकी प्रमुख रन्जिता राय र पत्रकार टेकराज भुसालको उपस्थिती थियो।
स्वागत मन्तव्यमा स्वास्थ्य शाखा प्रमुख गैरेले HPV खोप पाठेघरको क्यान्सर रोकथाममा प्रभावकारी रहेको स्पष्ट पार्दै अभियानअन्तर्गत नगरभरिका २४४ जना लक्षित समूहलाई खोप प्रदान गरिने जानकारी दिनुभयो। लक्षित समूहमा कक्षा ६ मा अध्ययनरत छात्रा र विद्यालय नजाने १० वर्षका किशोरीहरू रहेका छन्।
प्रमुख अतिथि नगर प्रमुख थापाले किशोरी स्वास्थ्यमा लगानी भनेको भविष्यमा स्वस्थ समाज निर्माणको आधार भएको बताउँदै लक्षित सबै छात्रा तथा किशोरीलाई खोप कार्यक्रममा सहभागी हुन आग्रह गर्नुभयो। उहाँले जनस्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्दै यस्ता रोकथाममुखी कार्यक्रमलाई निरन्तर अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
कार्यक्रममा नगर स्वास्थ्य शाखा, विद्यालय प्रशासन, स्वास्थ्यकर्मी, शिक्षक, अभिभावक र सञ्चारकर्मीहरूको सहभागिता थियो।
अभियानअन्तर्गत नगरभित्रका विद्यालय र स्वास्थ्य संस्थास्तरका तोकिएका केन्द्रबाट HPV खोप सेवा उपलब्ध गराइनेछ। कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखाका मणिराम कुँवरले गर्नुभएको थियो।
HPV खोप अभियानले भूमिकास्थान नगरपालिकामा पाठेघरको क्यान्सर नियन्त्रणमा ठोस योगदान दिने र किशोरीहरूको स्वास्थ्य सुरक्षालाई बलियो बनाउने विश्वास गरिएको छ।

