रुद्रमणि भुसाल, पुष १८- अर्घाखाँची । जिल्ला शिक्षा समन्वय इकाई अर्घाखाँचीको आयोजनामा सिक्नेसिकाउने र अनुभवको आदानप्रदान गर्दै विद्यालयको शैक्षिक गुणस्तरमा वृद्धि गर्ने उद्देश्यले सितगंगा नगरपालिकाअर्घाखाँचीमा रहेका जनजागृति मा.वि. सिद्घारा, सुबोधिनी मा.वि., जनता आधारभूत र दरबारे आधारभूत विद्यालयको स्थलगत अनुगमन गरिएको छ । जिल्ला शिक्षा समन्वय प्रमुख , सञ्चारकर्मी ,अङ्ग्रेजी, गणित विषयको विषयविज्ञ शिक्षक सहित विद्यालयको शैक्षिक गुणस्तर, शिक्षक दरबन्दी, व्यवस्थापनको अवस्था तथा पठन–पाठनको प्रभावकारिता मूल्याङ्कन गर्ने उद्देश्यले अनुगमन गरिएको हो।
अनुगमनका क्रममा विद्यालयको भौतिक पूर्वाधार, शिक्षक उपस्थिती, विद्यार्थी संख्या, पठन–पाठन प्रक्रिया, अभिलेख व्यवस्थापन लगायतका पक्षहरूको अवलोकन गरिएको जिल्ला शिक्षा समन्वय इकाइँ अर्घाखाँचीका प्रमुख विष्णुप्रसाद बेलबासेले जानकारी दिनुभयो। वडा अध्यक्ष, विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन, शिक्षक तथा सम्बन्धित सरोकारवालासँग आवश्यक छलफलसमेत गरिएको थियो।
अनुगमन टोलीले विद्यालयहरूमा देखिएका सकारात्मक अभ्यासहरूको प्रशंसा गर्दै सुधार गर्नुपर्ने पक्षहरूमा आवश्यक निर्देशन तथा सुझाव प्रदान गरेको छ। यस किसिमको अनुगमनले विद्यालयको शैक्षिक वातावरण सुधारमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको अङ्ग्रेजी विषय विज्ञ कृष्णप्रसाद खनालको भनाइ छ।
जिल्ला शिक्षा समन्वय इकाई अर्घाखाँचीले निरन्तर अनुगमन तथा सहजीकरणका कार्यक्रम सञ्चालनले गर्दा शैक्षिक गुणस्तर अभिवृद्धिमा सहयोग पुर्याउने शिक्षा समन्वय इकाइका प्राविधिक सहायक रामप्रसाद पौडेलको भनाइ छ ।
अनुगमनको क्रममा शिवगंगा नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष केशवप्रसाद बेलबासे, गणित विषय विज्ञ रुद्रमणि बेलबासे लगायतको उपस्थिति रहेको थियो। जिल्ला शिक्षा समन्वयले विषय विज्ञ सहित गरेको अनुगमनले आगामी दिनमा अझै विद्यालयको गुणस्तर वृद्धि गर्न थप मद्दत पुग्ने जनजागृति मावि सिद्धाराका प्रधानध्यापक रोमाखर बन्जाडेको भनाइ छ। कम दरबन्दी र भौतिक पूर्वाधारको केही कमी हुँदाहुँदै पनि विद्यालयको गुणस्तर सुधारमा वृद्धि हुदैगए पनि बसाईसराईले विद्यालयमा विद्यार्थीको संख्या दिन प्रतिदिन कम हुँदै गएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

