लक्ष्मी खनाल -अर्घाखाँची ।
सन्धिखर्क नगरपालिका वडा नं. ४ वाङ्लास्थित श्री भगवती आधारभूत विद्यालयले शुक्रबारको अतिरिक्त क्रियाकलाप अन्तर्गत एक महत्वपूर्ण व्यवहारिक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम अन्तर्गत कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थीहरुलाई परम्परागत सीपको रूपमा “दुना टपरी” बनाउने तालिम दिइएको हो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रकाश खनालले बालबालिकामा सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक सीप पनि अत्यन्तै आवश्यक भएको भन्दै यस्ता गतिविधिहरु बालबालिकाको समग्र विकासमा महत्वपूर्ण हुने धारणा राखे। उनले भने, “आजको यान्त्रिक युगमा परम्परागत सीपहरू हराउँदै गएका छन्, जुन भविष्यमा स्वावलम्बी बन्नका लागि आवश्यक हुन सक्छन्। त्यसैले विद्यालय स्तरमै यस्ता सीप सिकाउने प्रयास गरिनु आवश्यक छ।”
कार्यक्रममा सहभागी विद्यार्थीहरुले खुसीसाथ दुना टपरी बनाउने अभ्यासमा सहभागिता जनाए। शिक्षकहरु पनि तालिममा सक्रिय रुपमा सहभागी भएका थिए।
विद्यालयले सञ्चालन गरेको यस खालको सिर्जनात्मक र व्यवहारिक ज्ञानमा आधारित गतिविधिले बालबालिकाको आत्मनिर्भरता, सीप, संस्कृति र सिर्जनशीलता बढाउने विश्वास गरिएको छ।
स्थानीय अभिभावक र समुदायले पनि विद्यालयको यस्तो प्रयासको खुलेर प्रशंसा गरेका छन्। यस्ता कार्य अन्य विद्यालयले पनि अनुकरण गर्नुपर्ने देखिन्छ।