काठमाडौं – शुक्रबार दिनभर चलेको तीव्र राजनीतिक परामर्शपछि प्रतिनिधिसभा विघटन गर्ने र त्यसपछि अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई दिने सहमति बनेको छ।
स्रोतका अनुसार, राति ९ बजे शपथ ग्रहण कार्यक्रम शीतलनिवासमै राखिएको छ। आन्दोलनरत जेनजेड पुस्ताको दबाब र कार्कीको स्पष्ट अडानका कारण राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ बाटो खोल्ने निर्णय गरेका हुन्। उनले संसद् विघटन गरेर अन्तरिम सरकार गठनतर्फ अघि बढ्ने तयारी मिलाएका छन्।
यसअघि शुक्रबार बिहानदेखि नै राष्ट्रपति पौडेलले दलका शीर्ष नेताहरू, प्रधानसेनापति र जेनजेड प्रतिनिधिहरूसँग छलफल गरेका थिए। त्यसै क्रममा अन्तरिम सरकार प्रमुखको रूपमा प्रस्तावित कार्कीसँग पनि विशेष कुराकानी भएको बताइन्छ।