काठमाडौँ । दुई तिहाइ बहुमत ल्याएर गठन भएको सरकारले आगामी आर्थिक वर्ष (आव) का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
चालु आवमा १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट विनियोजन भएकोमा आगामी आवमा २५.२० प्रतिशत बढाइएको छ । कुल विनियोजित बजेटमध्ये चालुतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड, पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब १० करोड र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब ६४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
सरकारले आगामी आवका लागि ऊर्जा तथा जलस्रोततर्फ १ खर्ब ६ अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यसमध्ये, ऊर्जा उत्पादन, प्रसारण र वितरणमा ८५ अर्ब ५४ करोड र जलस्रोत तथा सिँचाइतर्फ २१ अर्ब १० करोड रुपैयाँ छुट्ट्याइएको छ ।
यसैगरी, आगामी आवमा जलविद्युत् आयोजनाबाट ६७० मेगावाट र सौर्य आयोजनाबाट ३७० मेगावाट गरी १०४० मेगावाट राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध हुने प्रक्षेपण गरिएको छ । उक्त परिमाण थपिएपछि देशको कुल जडित क्षमता ५५३५ मेगावाट पुग्ने अनुमान गरिएको छ ।

