झापा — झापाको हल्दीबारी गाउँपालिका–४, ओली चौकमा मंगलबार बिहान ग्यास लिक भएर भएको आगलागीमा एकै परिवारका चार सदस्य घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहान ८:४० बजेतिर पुण्यप्रसाद ओलीको तीनतले पक्की घरको दोस्रो तलामा रहेको भान्सा कोठामा रोटी पकाउने क्रममा ग्यास लिक भएर अचानक आगो लागेको हो।
घटनामा आगो निभाउने प्रयासका क्रममा घरमूली ६० वर्षीय पुण्यप्रसाद ओली, उनका ३३ वर्षीय छोरा सन्तोष ओली, ३२ वर्षीया बुहारी अनिता ओली र २० वर्षीय कान्छा छोरा आर्यन ओली पोली घाइते भएका हुन्।
घाइतेहरूलाई प्रारम्भमा ओमसाई पाथीभारा अस्पताल, भद्रपुरमा उपचारका लागि लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि विराटनगर रिफर गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
भान्सा कोठामा आंशिक क्षति पुगेको घटनास्थलमा प्रहरीको प्रारम्भिक आकलन छ।
कञ्चनश्री प्रहरी चौकीबाट खटिएको टोली र स्थानीयवासीको सहयोगमा आगो बिहान ९:१५ बजेतिर नियन्त्रणमा लिएको हो।
हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

