नेपाल राज्य संवाददाता
अर्घाखाँची– निवर्तमान उपसभामुख एवं अर्घाखाँची प्रतिनिधिसभा सदस्य उम्मेदवार पुष्पा भुसालले जिल्लाका सबै सडकलाई व्यवस्थित सडक बनाउने बताएकी छिन् । उनले यसको लागि आफु सहित गठबन्धनको जित जरुरी रहेको बताइन ।
‘मेरा पिताले रेखांकन गरेको र २०६४ सालमा अर्थमन्त्री डा. रामशरण महत अर्थमन्त्री हुँदा मैले रातो किताबमा बजेट पारेर शुरु गरेको सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकलाई पुरा गर्छु,’ जिल्लाका विभिन्न चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य भुसालले भनिन, ‘घुम्ती–पाल्पा सडक, सन्धिखर्क–तम्घास, रिडी–बल्कोट–तम्घास, सन्धिखर्क–प्युठान, गच्छे भालुवाङ सडकलाई कालोपत्रे गर्ने र मेरा पिता काँशिनाथ गौतमले बनाएको गोरुसिंगे–सन्धिखर्क सडकलाई दुई लेनको बनाएर व्यवस्थित सडक बनाउँछु ।’ प्रदेश सरकारबाट सञ्चालन भएको रामपुर–कपुरकोट, पोखरा–सुर्खेत सडक, मदन भण्डारी सडक धमाधम निर्माण भैरहेका छन् । ढोरपाटन सडकको पटैटी–दुर्गाफाँट–तम्घास सडकलाई छिटो पुरा गरेर गाडी चल्ने बनाउन पहल गर्ने बताइन ।
छिमेकी जिल्ला जोड्ने सडक देखि जिल्लाका मुख्य तथा सहायक सडक कालोपत्रे गर्ने र वडाको टोलैपिच्छे पुगेका सबै सडकलाई बाह्रै महिना गाडी चल्ने व्यवस्थित सडक बनाउने आफ्नो ५ वर्षे योजना रहेको उनले बताइन । ‘गाउँमा उत्पादन भएको कृषि उपज सहजै बजार ल्याउन सकिने गरी जिल्लाका सबै सडक व्यवस्थित गर्छु,’ उनले भनिन, ‘जिल्लाका सबै सडकमा हिउँद/बर्षा सरर गाडी चल्ने बनाउँछु ।’
शितगंगामा रहेको पतञ्जली मार्ग, भेडामारे- सिमलपानी- कपिलवस्तु पिपरा जाेड्ने सडक लगायत जिल्लाका सबै सडकलाई व्यवस्थित बनाउने उनले बताइन । जिल्लाका प्राय: टाेलैपिच्छेका सडक ट्याक्सी चल्छन् । जिल्लामा ३ सय भन्दा बढी ट्याक्सी चल्छन । सडकका हिसाबले अर्घाखाँची देशकै नमुना जिल्ला हाे ।