सन् २०११ देखि सुरु भएको नेपाली क्रिकेटको स्वर्ण युगको स्वर्ण पुस्ताका सदस्य हुन्– ज्ञानेन्द्र मल्ल र शरद भेषावकर । प्राविधिक रुपमा दक्ष ब्याटरका रुपमा परिचित ज्ञानेन्द्र र समर्थकबाट ‘द फिनिसर’ उपमा पाएका शरदले पछिल्लो समयमा राष्ट्रिय टिमबाट आफ्नो कला देखाउन पाएका छैनन् ।
शरदले फेब्रुअरीयता र ज्ञानेन्द्रले मार्चयता राष्ट्रिय टिमबाट खेल्न पाएका छैनन् । यी दुई सिनियर खेलाडी बिना नै राष्ट्रिय टिमले चारवटा शृंखला खेलिसकेको छ । नेपाली टिम अहिले पूर्णतः युवा खेलाडीमा निर्भर छ ।
शरद लगातारको चोट र खस्किँदो लयका कारण टिमबाट बाहिरिएका थिए । ज्ञानेन्द्रलाई चोटको समस्या छैन । यी दुवैले औपचारिक रुपमा सन्यासको घोषणा पनि गरेका छैनन् । तर, राष्ट्रिय टिमबाट उनीहरु टाढिँदै गइरहेका छन् ।
त्यसो भए नेपाल क्रिकेटमा शरद र ज्ञानेन्द्रको समय सकिएको हो ?
source: online khabar