शोभाखर पन्थी,अर्घाखाँची ।
नयाँ नेतृत्वको चयन गर्दै नेकपा एमाले भूमिकास्थान नगर कमिटीको दोस्रो नगर अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले नेकपा एमालेका युवानेता राजकुमार श्रेष्ठको अध्यक्षतामा ६५ सदस्यीय नगर कमिटीको सर्वसम्मत चयन गरेको छ । अध्यक्ष श्रेष्ठ नेकपा एमालेको दुई कार्यकाल जिल्ला सदस्य भई सकेका नेता हुनुहन्छ । अघिल्लो कार्यकाल भूमिकास्थान वडा नं.८ को वडा अध्यक्ष निर्वाचित भई कामकाज गरेका उहाँ यस पटकको निर्वाचनमा झिनो मत अन्तरले पराजित हुनुभएको थियो । उहाँ बहुचर्चित गर्वे-नुवाकोट खानेपानी उपभोक्ता समितिका अध्यक्ष समेत हुनुहुन्छ ।
यसैगरी अधिवेशनले उपाध्यक्षमा हरिबहादुर के.सी.,सचिव ईश्वरी प्रसाद मरासिनी ,उप-सचिव मेघबहादुर थापा र सीता थपालाई सर्वसम्मत निर्वाचित गरेको छ ।
अधिवेशनको उद्घाटन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य बोमबहादुर बि.क.ले नेकमा एमाले बाट मात्र विकास र समृध्दि संभव भएको बताउनु भयो । गत निर्वाचनमा नेकपा एमालेलाई सबै दल मिलेर घेराबन्दी गरेकै कारण एमालेले बहुमत ल्याउन नसकेको भन्दै उहाँले एमालेको बहुमतको सरकार नभएका कारण मुलुकले बिभिन्न खाले समस्या झेल्नु परेको बताउनुभयो । वर्तमान सरकारको पहिलो काम भ्रटाचार,अनियमितता र ढिलासु्स्तिलाई निर्मुल पार्नु भएको भन्दै उहाँले जस-जसले जतिसुकै रोहिलो गरेपनि सरकार सुशासन र सामाजिक न्यायको पक्षमा दृढता पुर्वक उभिने दावी गर्नुभयो ।
कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद सदस्य नरेन्द्र कुमार क्षेत्री र जिल्ला कमिटी अध्यक्ष पीताम्बर भुसालले आउने निर्वाचनमा नेकपा एमालेले सजिलै एकल बहुमत ल्याउने बताउनु भयो । भूमकास्थान समेत अब नेकपा एमालेको किल्ला भएको भन्दै नेता द्वयले जनताको मनजितेर अगाडि बढ्न कार्यकर्ता लाई आग्रह गर्नुभयो ।
अब कुरा मात्र गरेर जनताले साथ नदिने भन्दै उहाँहरुले जनताको हरेक दु:ख सुखको सारथी बन्न कार्यकर्ताको ध्यानाकर्षण समेत गराउनु भयो ।
कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य केवी भुसाल,प्रतिनिधिसभाका सदस्य समेत रहनु भएकी प्रदेश कमिटी सदस्य बिजुला रायमाझी,एमाले जिल्ला कमिटी उपसचिब खगेश्वर पन्थी र एमाले भुमिकास्थान नगर कमिटीका सहजकर्ता रेशम थापाले मुलुकमा नेकपा एमालेको विकल्प छैन भन्ने कुरा भूमिकास्थानमा भएको नेकपा एमाले प्रतिको आकर्षणले प्रमाणित गरिदिएको बताउनु भयो । उहाँहरुले हरेक दुःखसुखमा जनताको साथमा रहेर काम गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेकी नेतृ पवित्रा पौडेलले पछिल्लो समय नेकपा एमालेले गरेको प्रगति र नेताहरुको खटाईले आफूलाई निकै खुसि लागेको बताउनु भयो । उहाँले आफूले जिवन समर्पण गरेको पार्टी प्रति जनताको समर्ण र माया देख्दा निकै उत्साहित भएको बताउनु भयो । नेतृ पौडेलले एकथोपा रगत रहेसम्म नेकपा एमालेको पक्षमा वकालत गरिरहने बताउनु भयो ।
केहि समय पहिले राष्ट्रिय जनमोर्चा छोडेर नेकपा एमाले प्रवेश गर्नुभएका लोकप्रिय नेता कविराम खनाल र माओवादी केन्द्र छोडेर एमाले प्रवेश गर्नुभएका बौद्धिक नेता नरेद्रमान मुखियाले नेकपा एमाले कम्युनिष्ट आन्दोलनको मुलप्रवाहको रुपमा स्थापित भएको बताउनु भयो ।
उहाँहरुले कम्युनिष्ट आन्दोलनलाई थप परिष्कृत र एकताबद्धगरी मुलुकमा आमुल परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो । नेता द्वयले आफूहरु कुनै पद र प्रतिष्ठाको निम्ति नभई एकताबद्ध र वलियो कम्युनिष्ट पार्टी निर्माण गरि सामाजिक न्याय सहितको बिकास र समृध्दिको यात्रा पुरा गर्ने महान उद्देश्यका साथ नेकपा एमाले बनेको धारणा व्यक्त गर्नुभयो ।
नेकपा एमाले भूमिकास्थानका का.वा.अध्यक्ष चिरञ्जीवी खनालको अध्यक्षता ,एमाले नेता झुपलाल खनालको स्वागत मन्तव्य र टामलाल भट्टराईको संचालनमा सम्पन्न कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटी उपाध्यक्ष शम्भु्प्रसाद पोख्रेल,सचिव तोजबहादुर रायमाझी,नेताहरु पदम क्षेत्री भुसाल,सरोज भुसाल,कमल घिमिरे,देवबहादुर खड्का,जगत खड्का,विष्णु ढुङ्गाना,महिला नेतृ राधिका गैरे लगायतको उपस्थिति रहेको थियो ।
बन्दशत्र संचालनको लागि एमाले जिल्ला उपाध्यक्ष पोख्रेलको अध्यक्षतामा अध्यक्ष मण्डल बनाईएको थियो ।