हरि कुँवर , अर्घाखाँची ।
अर्घाखाँची जिल्ला उद्योग वाणिज्य संघले छैठौं अर्घाखाँची महोत्सवको काम तीब्र रुपमा अगाडि बढाएको छ ।
संघले सोमबार पत्रकार सम्मेलन मार्फत पौष २९ गते देखी माघ १२ गतेसम्म कुडुलेफाँटमा छैठौं अर्घाखाँची महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका मुख्य मन्त्री चेतनारायण आचार्य द्वारा हुने बताएको हो।
“कृषि, पर्यटन, उद्योग र व्यापार स्थानीय उत्पादनको प्रयोग रोजगारीको मुख्य आधार ” भन्ने नारासहित सञ्चालन गरिने महोत्सवले विशेषगरी स्थानीय उत्पादन, जिल्ला को पहिचान , कृषि उत्पादन अभिवृद्धि, पर्यटन प्रवर्द्धन अर्घाखाँची बासीको हितमा हुने ३ सय ५० स्टल रहने अर्घाखाँची उद्योग वाणिज्य संघ अध्यक्ष प्रदिप मिश्रले बताए ।
अर्घाखाँची उद्योग वाणिज्य संघले विभिन्न समय जिल्लाको व्यापार, कृषि एवं पर्यटनलगायत क्षेत्रको प्रवर्द्धन जिल्लाको हितका लागि भूमिका खेल्दै आएको छ । यसैको निरन्तरतास्वरूप संघले महोत्सव आयोजना गरेको हो । विगतको भन्दा थप उत्साह सहितको मेला हुने भएको हो ।
महोत्सवले स्थानीय स्तरमा उत्पादित वस्तु तथा सेवाको पहिचान गरी बजार प्रवर्द्धन गर्ने स्थानीय लाई प्राथमिकता दिने अपेक्षा गरिएको छ । महोत्सवले जिल्लाको हितमै हुने पर्यटन विकास एवं सांस्कृतिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अध्यक्ष मिश्रको दाबी छ ।
मेलामा करिब १ लाख दर्शकले अवलोकन गर्ने र ५ करोडको आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको छ ।