अर्घाखाँची । अर्घाखाँची जिल्लामा हालै सम्पन्न पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम–२०८२ मा खोप अभियानलाई सफल बनाउन विभिन्न तहमा योगदान दिने व्यक्तिहरूलाई विशेष सम्मान गरिएको छ।
सो कार्यक्रममा नेपाल राज्य डटकमका पत्रकार केशब पन्थीलाई खोप अभियानसम्बन्धी समाचार संकलन तथा सूचना प्रवाहमा निर्वाह गरेको सक्रिय भूमिकाको उच्च मूल्याङ्कन गर्दै विशेष सम्मान प्रदान गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले स्वास्थ्य क्षेत्रमा केही सुधार भए पनि अझै धेरै गर्न बाँकी रहेको उल्लेख गर्दै यस्ता अभियानले समुदायको स्वास्थ्य सुदृढीकरणमा महत्त्वपूर्ण योगदान पुर्याउने बताए।
विशिष्ट अतिथि लुम्बिनी प्रदेशसभा सदस्य रामजी प्रसाद घिमिरेले जिल्लामा अब खोप नपाउने कोही नरहेको भन्दै पत्रकारहरूको सक्रियताले आमजनसमक्ष अभियानबारे जनचेतना फैलाउन सघाएको बताए।
त्यस अवसरमा प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याल, सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्ण प्रसाद श्रेष्ठ, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा नेपाल पत्रकार महासंघ अर्घाखाँची अध्यक्ष गणेश खनाललगायतले पनि सञ्चारकर्मीहरूको योगदानको प्रशंसा गरे।
कार्यक्रम जिल्ला खोप समन्वय समितिका संयोजक जीवनारायण कोईरालाको अध्यक्षतामा सम्पन्न भएको थियो। जिल्ला स्वास्थ्य कार्यालय प्रमुख कृष्ण प्रसाद पोखरेलले स्वागत मन्तव्यसहित कार्यपत्र प्रस्तुत गरेका थिए भने कार्यक्रमको सञ्चालन वसन्त श्रेष्ठले गरेका थिए।
स्वास्थ्यकर्मी, स्वयंसेविका र सञ्चारकर्मीहरूमध्ये पत्रकार केशब पन्थीको निरन्तर जनचेतनामूलक पत्रकारिता तथा खोप अभियानप्रति समर्पणलाई आयोजकले उच्च मूल्याङ्कन गर्दै सम्मान गरेको थियो ।