अर्घाखाँची । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले अनुभवी र परिचित अनुहारलाई मैदानमा उतारेको छ। कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री विष्णुप्रसाद खनाल (मुस्कान) अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका हुन्।
मालारानी गाउँपालिका–४ खनका खनालको राजनीतिक यात्रा विद्यार्थी राजनीति नेविसंघबाट सुरु भएको हो। स्थायी शिक्षकको सुरक्षित जागिर त्यागेर २०५४ सालको स्थानीय निर्वाचनमा खन गाविस अध्यक्षका लागि उम्मेदवार बनेर उनले राजनीतिमा जोखिम लिन सक्ने नेताको पहिचान बनाएका थिए।
राजनीतिसँगै केही समय जिल्लामा पत्रकारिता गरेका खनाल कांग्रेसको संगठन निर्माणमा गाउँदेखि प्रदेशसम्म सक्रिय रहे। गाउँ, क्षेत्र र जिल्लाका विभिन्न जिम्मेवारी सम्हाल्दै सचिव, उपसभापति र सभापति हुँदै उनी अहिले प्रदेश नेतृत्वमा छन्। २०७४ सालमा प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेका खनाल दुई निर्वाचनमा पराजित भए पनि राजनीतिबाट पछि हटेनन्।
स्नातक उत्तीर्ण ५५ वर्षीय खनाल विद्यार्थी जीवनदेखि नै जिल्लामै बसेर राजनीति, पत्रकारिता र सामाजिक सेवामा निरन्तर सक्रिय रहँदै आएका छन्। संघर्ष, निरन्तरता र संगठनमा पकड भएका नेता खनाललाई कांग्रेसले यसपटक प्रतिनिधिसभाको उम्मेदवारका रूपमा अघि सारेको छ।

