अर्घाखाँची – एकीकृत समाजवादी अर्घाखाँचीका अध्यक्ष रामबहादुर चौहानले हालैको राजनीतिक परिस्थितिलाई लक्षित गर्दै कडा चेतावनी दिएका छन् । नेताहरु लाई “दम” भए युवालाई स्वदेश फर्काउन पाँच अर्ब बजेट अर्घाखाँची भित्र्याउनुस् भनेर खुल्ला रुपमै “च्यालेन्ज” गरेका हुन् ।
उनले “आफै बो’क्सी आफै धामी” बनेर जनतालाई झुक्याउने नाटक गर्ने नेताहरूमाथि कटाक्ष गर्दै अब जनता सजग, चनाखो र एकताबद्ध बन्नुपर्नेमा जोड दिएका छन् ।
अध्यक्ष चौहानले सामाजिक संजाल लेख्दै स्वदेश तथा विदेशमा रहेका अर्घाखाँचीबासी न्यायप्रेमी जनसमुदायलाई सम्बोधन गर्दै चौहानले पञ्चायतकालीन वनमन्त्रीले गरेको धुर्त्याईपूर्ण “नाटक” स्मरण गरे । उनका अनुसार तती मन्त्रीले जनतालाई आफैँ रुख काट्न लगाए, आफैँ उजुरी गरेर पक्राउ गर्न लगाए, पैसासहित कुटपिट गरे, अन्तिममा आएर “छुटाएको” नाटक गरे र त्यहीँ आधारमा भोट कुम्ल्याएर मन्त्रीसम्म बने ।
“त्यो समयको फट्याईँ आज पनि विभिन्न रूपमै दोहोरिँदै छ,” चौहानले भने, “आफै सरकारमा, आफैँ सडकमा, आफैँ डेलिगेसनमा अनि माग पुरा गरेको नाटक गर्ने प्रवृत्ति अहिले पनि देखिएको छ ।” उनले भने ।
उनले कार्यालय खारेज गरेर पुनःस्थापन गर्ने, महँगी बढाएर पुनः घटाएजस्तो देखाउने, बजेट कटौती र पुनःस्थापनाको नाटक गर्ने प्रचलनबारे प्रश्न उठाए । चौहानका अनुसार नेताहरूले ९० रुपैयाँले मूल्यवृद्धि गरेर २–४ रुपैयाँ घटाउँदा जनता मख्ख परेर बधाई, शुभकामना र फूलमालाको ओइरो छ्याप्ने प्रवृत्तिले धुर्त नेताहरूलाई फाइदा पुग्ने गरेको छ ।
चौहानले चुनौती दिँदै भने, “साँच्चै हिम्मत छ भने अर्घाखाँची अस्पताललाई मेडिकल कलेज बनाउने दुई अर्ब, पाणिनी बहुमुखीलाई बहुप्राविधिक शिक्षालय बनाउन एक अर्ब, अर्घा–भगवती विमानस्थल सञ्चालनका लागि दुई अर्ब, रोजगारीका लागि युवालाई स्वदेश फर्काउने पाँच अर्ब, सडक र पर्यटकीय क्षेत्रको लागि आवश्यक बजेट ल्याउनुपर्छ । अनि मात्र बधाई, स्याबासी र फुलमालाको हकदार बन्छन् ।”
उनले जनतालाई अब धोकामा नखान आग्रह गर्दै थपे, “यो पञ्चायतकालिन मन्त्रीको जमाना होइन, सार्वभौमसत्ता सम्पन्न जनताको युग हो । जनताले सबै कुरा बुझिसकेका छन् । चटक देखाएर जनतालाई फसाउन खोज्नेहरूको नाटक अब चल्दैन । साँचो कुरा भन्ने हो भने मात्रै हामी सबैको भलो हुन्छ ।” उनले भने ।

