सचिन बोहोरा
२०८० असोज १२ गते प्रकाशित
पाणिनि गाउँपालिका–७ स्थित जनसेवा माध्यमिक विद्यालयले मावि तहको विज्ञान विषयको शिक्षक आवश्यक्ता सम्बन्धी विज्ञापन लगातार पाँच पटक गर्दा बल्ल दुई जनाले दरखास्त हालेका छन् । शुरुमा साउन १८ गते शिक्षक स्थायी अनुमति पत्र सहितको १५ दिने विज्ञापन ग¥र्याे । कसैको आवेदन परेन । दोस्रो पटक लाइसन्स विना माग गर्दा पनि निवेदन परेन ।
त्यसपछिका लगातारका विज्ञापनमा पनि आवेदन नपरेपछि अन्तिम पटककोमा जताजतै आफै खोजेर सल्यानका प्रकाश घर्ती र कपिलवस्तुका विपिन मिश्रको आवेदन परेको थियो । मिश्रले नआउने जानकारी गराएपछि मंगलवार घर्तीको मात्रै परीक्षा भैरहेको छ । वस्तुगत, विषयगत र अन्तरवार्ता तीन चरणमा परीक्षा जारी छ । यहाँ कार्यरत शिक्षक हरि भुसाल खिदिम घर पायकमा सरुवा भएर गएपछि दरबन्दी खाली भएको हो ।
पाँच पटकसम्म विज्ञापन खुलाउँदा समेत शिक्षक पाउन कठिन भएको र घर्ती मात्रै परीक्षा दिन आएको विद्यालयका प्रअ शालिकराम बेल्वासेले बताए । यही स्कुल र गाउँका अन्य स्कुलमा पढेका विद्यार्थीले पनि साइन्स पढ्ेका छन् । धेरै विदेश र शहर केन्द्रित छन् । मावि शिक्षकको तलब सुविधा थोरै भएको र गाउँमा अन्य अवसर नहुने भन्दै आउन नमानेको उनले बताए । मालरानी गाउँपालिका–१ वीरेन्द्र माविमा गणित विषयको शिक्षक नहुँदा चार महिनादेखि पढाई प्रभावित भएका छन् । तीन पटकसम्म गणितको मावि शिक्षकको विज्ञापन खुलाउँदा पनि कोही दरखास्त दिन नआएकाले पढाइमा समस्या परेको प्रअ जीतबहादुर केसीले बताए ।
मावि शिक्षक हारगुहार गर्दा नपाएको उनको गुनासो छ । माविक शिक्षक नभएपछि प्राविधिक धारका असिन मरहठ्ठाले गणित पढाएका छन् । गणित पढेकाहरु गाउ“मा पढाउन आउन कोही मानेनन् । जताजतै हारगुहार गर्दा पनि कतै नपाएपनि चुप लागेर बसेको उनले बताए । उनी इलेक्टेनिक इन्जिनयिर हुन । गणितमा स्नातक र स्नाकोत्तर पढेको जति अधिकांश विदेश गएको र भएका केही ठूला सहर केन्द्रित बसेकाले समस्या भएको केसीले बताए । छ स्थानीय तहमा ८९ माध्यमिक विद्यालय छन् । सबैमा गणित र विज्ञान विषयका शिक्षक छैनन् ।
शितगंगा नगरपालिका–१४ को पाकुरी माविमा गणित र विज्ञान विषयको शिक्षक अभाव छ । तीनपटक विज्ञापन गर्दा पनि कोही दरखास्त दिन आएन । यसै नगरको वडा ७ लामातालस्थित विष्णुपथ चौपारी आधारभूत विद्यालयमा पनि तीन पटक गणित र विज्ञान विषयको शिक्षक मागको विज्ञापन गर्दा कोही आएनन् । यस्तै समस्या थुप्रै विद्यालयमा छ । पढाइरहेको गणित र विज्ञान विषयका शिक्षक अवकास भए, सरुवा भए र राजीनामा दिएमा नयाँ शिक्षक पाउन निकै कठिन भएको जिल्ला शिक्षा तथा समन्यव इकाई प्रमुख मनिराम पराजुलीले बताए ।
पढेलेखेका मान्छे पनि जिल्ला र स्वदेशमा नबस्दा यस्तो समस्या आएको हो । धेरैजसो एसईई पछि रोजगारीको लागि वैदेशिक रोजगारमा जान्छन् । कक्षा १२ पढेपछि अष्ट्रेलिया, जापान लगायतका देशमा विद्यार्थी भिसामा जाने र पढेपछि उतै रोजगारी गर्ने गर्दा जनशक्ति नै अभाव भएको पूर्वजिल्ला शिक्षा अधिकारी लिलबहादुर राउत क्षेत्रीले बताए । अष्ट्रेलिया, जापान, क्यानडा लगायतका देशले नेपालबाट विद्यार्थी तानेर लैजान्छन्, त्यहाँ गएका अधिकांश विद्यार्थी नेपाल नफर्कने उनले बताए ।