नेपाल राज्य संवाददाता
दाङ– लुम्बिनी प्रदेशमा एचआइभी संक्रमतिको संख्या ४ हजार ७ सय ८६ पुगेको छ । उनीहरुले लुम्बिनी प्रदेशका १५ स्थानबाट एआरटी औषधि सेवन गर्छन् । सबैभन्दा धेरै १ हजार ५ सय ८९ जनाले लुम्बिनी प्रादेशिक अस्पतालबाट औषधि सेवन गरिरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
स्वास्थ्य निर्देशनालयको आयोजना र ए एचएफ नेपालको प्राविधिक सहयोगमा दाङको लमहीमा भएको कार्यशालामा एचआइभी संक्रमित पत्ता लगाउन गरिने परीक्षणका लागि आवश्यक पर्ने टेस्टकिट र बेला बेलामा गर्नुपर्ने सिडीफोर तथा भाइलर लोडको परीक्षण अवरुद्ध हुँदा विरामीलाई सास्ती भएको लुम्बिनीका कार्यक्रम संयोजक धर्मराज भट्टराइले बताए ।
संक्रमितहरु समाजमा खुल्न चाँहदैनन् । हरेक वर्ष ३ सय जना संक्रमित थपिने र औषतमा २० देखि ३० जनाको मृत्यु हुने एआरटी फोकल पर्सन भीम ज्ञवालीले बताए ।
पछिल्लो समय बढ्दो संक्रमितको न्युनीकरणको लागि तीनै तहबीच सहकार्य र समन्वयन गर्नुपर्ने जरुरी रहेको लुम्बिनी स्वास्थ्य सचिव डा. जनार्दन पन्थीले बताए । अस्पताल, स्वास्थ्य चौकी र पालिकामा सबै सेवा पु¥याउनुपर्ने उनले बताए ।
धेरैजसो तराइका जिल्लामा संक्रमितको संख्या बढ्दो रहेको छ । असुरक्षित यौनसम्पर्क र अन्य कारणले पनि संक्रमित बढेकाले सचेतनामुलक कार्यक्रम गर्नुपर्ने आवश्यक रहेको छ ।
स्वास्थ्य मन्त्री दिपेन्द्रकुमार पुन मगरले एचआइभीबारे गाउँबस्ती र सहरी क्षेत्रमा संक्रमणबाट बच्ने उपाय, तरिकाको बारेमा चेतनामुलक सन्देश प्रवाह गरिनुपर्ने बताए । उनले नीतिगत तथा बजेटमा सम्बोधन गर्ने र उपचारमा सहज पहुँच बढाएर न्युनीकरण गर्नपर्नेमा जोड दिए ।
कार्यशाला गोष्ठीमा लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद कुमार गिरी, प्रदेश स्वास्थ्य आपूर्ती केन्द्रका निर्देशक रोशनलाल चौधरी, ए एच एफ नेपालका कन्ट्री प्रोग्राम म्यानेजर दिव्यराज जोशी, एचआइभी एड्स महासंघका प्रतिनिधि, प्रदेश जनस्वास्थ्य प्रयोशालाका निर्देशक राजेन्द्र गुप्ता, प्रदेश तालिम केन्द्रका निर्देशक महेश्वर श्रेष्ठ लगायतले धारणा राखेका थिए ।