अर्घाखाँची, असार १३ । नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी अर्घाखाँचीले जिल्लामा कृषकले भोगिरहेको समस्या समाधानको माग गर्दै ज्ञापनपत्र बुझाएको छ।
आज शुक्रबार जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोईराला र सहायक प्रमुख जिल्ला अधिकारीलाई किसानको समस्याबारे ध्यानाकर्षण गराउँदै मागपत्र बुझाइएको हो।
रासायनिक मलको चरम अभाव, बादर–बँदेलको आतङ्क, मनसुनजन्य विपत्ति र जिल्लामा देखिएका विविध समस्या समाधानका लागि तत्काल पहल गर्न माग गरिएको छ। नेकपा (एकीकृत समाजवादी) जिल्ला अध्यक्ष रामबहादुर चौहानले आइपर्ने विपत्ति र किसानको समस्याबारे जिल्लाका ६ वटै पालिका ध्यानाकर्षण गराएको बताए ।
ज्ञापनपत्र बुझाउने क्रममा नेकपा समाजवादीका उपाध्यक्ष युवराज पौडेल, सचिव हृदयकुमार भुसाललगायत नेताहरूको उपस्थिति थियो। उनीहरूले किसानको पीडा गम्भीर रहेको बताउँदै आवश्यक मल–बीउको सहज आपूर्ति, वन्यजन्तु आतङ्क नियन्त्रण तथा विपद् व्यवस्थापनमा राज्यको ध्यान पुर्याउन आग्रह गरे।
एकीकृत समाजवादीले किसानको समस्या समाधानका लागि ठोस पहल र दीर्घकालीन योजना आवश्यक रहेको जनाएको छ।