काठमाडौं – अर्घाखाँची जिल्लाबाट उदाएर बुटवलमा गीत संगीत क्षेत्रमा संघर्ष गर्दै आएकी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो विशिष्ट पहिचान बनाइसकेकी लोकप्रिय गायिका दुर्गा क्षेत्री नेपालको नयाँ तीज गीत “रे रे रे रे” ले युवा पुस्ताको मन जित्न थालेको छ।
आउदै गरेको तीज पर्वलाई लक्षित गर्दै सार्वजनिक गरिएको यस म्युजिक भिडियोले छोटो समयमै हजारौं युवादर्शकको ध्यान खिच्न सफल भएको हो। बिशाल शोनीको उत्कृष्ट शब्द र लय, दुर्गा क्षेत्री नेपालको सशक्त स्वर, निरेन श्रेष्ठको कला निर्देशन र बिशाल शोनी तथा अंकिता नेपालको दमदार आकर्षक अभिनय यस गीतका विशेष पक्ष हुन्। तीजको सांस्कृतिक र भावनात्मक पक्षलाई समेट्दै बनाइएको “रे रे रे रे” ले महिलाको उत्साह, युवापुस्तामा उमंग र मायापिरतीको संगम प्रस्तुत गरिएको छ ।
गीतमा समेटिएको नारी जीवनको चमक, पर्वको चटारो र मायालु भावनाले दर्शकलाई भावनात्मक रुपमा छुने गरेको प्रतिक्रिया आइरहेका छन्। सामाजिक सञ्जालमा युवापुस्ता दर्शकमाझ यो गीत छिट्टै भाइरल बन्दै गएको उनका शुभचिन्तकहरुले बताएका छन् ।
गायिका दुर्गा क्षेत्री नेपाल यसअघि पनि चर्चित तीज र पन्चेबाजामा आधारित गीतहरू मार्फत श्रोता-दर्शकको मन जित्दै आएकी छिन्। उनका “जुग जाने पिरती”, “कति राम्री”, “बटौली सहर”, “माइती घरको आगनी” जस्ता गीतले लाखौंको मनमा गहिरो छाप छोडिसकेका छन् । संगीतप्रतिको उनको लगाव, निरन्तरता र मौलिकता नै उनी आजको पुस्ताको लागि प्रेरणादायी बनेकी छिन्।
गायनमा मात्र होइन, कला संस्कृतिको जगेर्ना र प्रवर्द्धनमा पनि सक्रिय रहिआएकी क्षेत्रीले उक्त गीत को माध्यमबाट समकालीन तीज गीतहरूमा फरक र नयाँ स्वाद ल्याएको स्पष्ट देखिएको छ ।
गायिका दुर्गा क्षेत्री नेपालले भनेकी छिन् “तीज हाम्रो परम्परा र महिला आवाजको चाड हो। यसलाई मनाउन र महसुस गर्न सकिने किसिमको गीत दर्शकसामु ल्याउने प्रयास गरें। ‘रे रे रे रे’ मेरो तर्फबाट सम्पूर्ण नेपाली आमाबुबा, दिदीबहिनीहरूलाई यो तीजको साङ्गीतिक कोसेली हो। विशेष गरि युवापुस्ताले मन पराउनु भयो । सबैमा धन्यवाद !! ”
भिडियो :

