अर्घाखाँची। अर्घाखाँचीबाट निर्वाचित सांसद हरिप्रसाद भुसालले आफू विगतका धेरै सांसदजस्तो राजधानी केन्द्रित नहुने बताएका छन्।
जनताको बीचमै रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले आफ्नो प्राथमिकता गाउँमै रहने बताएका हुन्।
निर्वाचनपछि जिल्लाका विभिन्न स्थानमा पुगेर मतदातालाई धन्यवाद ज्ञापन गर्दै गाउँ–गाउँ पुगिरहेका सांसद भुसालले शुक्रबार भूमिकास्थान नगरपालिकाका ढाकावाङ्ग र धारापानीमा आयोजित धन्यवाद कार्यक्रममा यस्तो बताएका हुन्।
उहाँले सांसद पद जनताको सेवा गर्ने जिम्मेवारी भएको उल्लेख गर्दै आफू सधैं जनताको सुख–दुःखमा साथ रहने बताए। “म बोल्नका लागि होइन, काम गर्नका लागि आएको हुँ। अहिले म परीक्षामा छु, पाँच वर्ष काम गरेर देखाउनु छ,” उनले भने।
सांसद भुसालका अनुसार आफू सधैं जनताको बीचमै रहने र कामको आवश्यकताअनुसार मात्रै राजधानी जाने योजना रहेको छ। “सधैं जनताको बीचमै रहनेछु, काम परेको बेलामा मात्रै राजधानी जाने मेरो योजना छ” उनले बताए।
निर्वाचनमा देखाएको विश्वास र समर्थनका लागि मतदाताप्रति आभार व्यक्त गर्दै उनले आगामी दिनमा जिल्लाको विकास, पूर्वाधार निर्माण तथा जनताको आवश्यकतासँग जोडिएका विषयलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
कार्यक्रममा सहभागी स्थानीय बासिन्दाले सांसद भुसालसँग क्षेत्रको विकास, सडक विस्तार, शिक्षा तथा अन्य आधारभूत पूर्वाधारका कामलाई प्राथमिकता दिन आग्रह गरेका थिए।

