अर्घाखाँची । मदन भण्डारी फाउन्डेसन अर्घाखाँचीका अध्यक्ष श्रीकृष्ण भुसालले नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार पिताम्बर भुसालको खुलेर प्रशंसा गरेका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले मतदातालाई मतदानअघि धेरै पटक सोच्न आग्रह गर्दै योग्य, चरित्रवान र नैतिक उम्मेदवारलाई रोज्नुपर्ने बताएका हुन्। आफ्नो मूल्याङ्कनमा पिताम्बर भुसाल नै अर्घाखाँचीका सबैभन्दा योग्य उम्मेदवार रहेको दाबी गर्दै उनले निर्वाचित भएपछि मतदातालाई पछुतो हुने गरी कुनै गल्ती नगर्ने विश्वास व्यक्त गरेका छन्।
उनका अनुसार भुसाल आधारभूत तहबाट राजनीति सुरु गरेर २५ वर्षकै उमेरमा साविक गाउँ विकास समितिको अध्यक्ष बनेका थिए र स्थानीय पूर्वाधार विकासमा नेतृत्व गरेका प्रमाणित जनसेवक हुन्। सन्धिखर्क–हंसपुर मोटरबाटो, विद्यालय भवन निर्माणलगायत कामले उनको क्षमता देखाएको उनले उल्लेख गरेका हुन्।
अध्यक्ष भुसालले भुसाल स्नातकोत्तर तहसम्म शिक्षित, संघर्षबाट खारिएका तथा प्रतिकूल परिस्थितिलाई अनुकूलतामा बदल्ने क्षमता भएका नेता भएको बताएका छन्। उनले पाणिनी बहुमुखी क्याम्पसबाट स्नातक पूरा गरी द्वन्द्वकालीन विस्थापनको अवस्थालाई पनि अवसरमा बदल्दै समाजशास्त्रमा स्नातकोत्तर अध्ययन गरेको प्रसंग उल्लेख गरेका छन्।
राजनीतिक रूपमा उनले जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको मार्गदर्शनमा अघि बढ्ने प्रतिबद्ध नेता भएको बताएका छन्। साथै भुसाल आयातित नेता नभई ४० वर्षदेखि जिल्लाकै माटोमा संघर्ष गरेर स्थापित भएको दाबी गरेका हुन् ।
उनले पार्टीभित्र नेतृत्व विकास र हस्तान्तरणको अभ्यासमा पनि भुसाल उदाहरणीय रहेको उल्लेख गर्दै सक्षम विधायकलाई निर्वाचित गरेर अर्घाखाँचीको विकास र समृद्धिका लागि नीति निर्माण तहमा प्रभावकारी भूमिका निर्वाह गर्न मतदातालाई समर्थन गर्न अपिल समेत गरेका छन्।

