काठमाडौं – आगामी ०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका तयारीबारे प्रधानमन्त्री सुशीला कार्की र निर्वाचन आयोगका पदाधिकारीबीच मंगलबार छलफल भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको बैठकमा प्रधानमन्त्री कार्कीले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सरकार प्रतिबद्ध रहेको बताइन्। उनले निर्वाचन खर्च मितव्ययी हुनेतर्फ पनि जोड दिँदै आयोगलाई तयारीका सम्पूर्ण काम ढिला नगरी अघि बढाउन आग्रह गरिन्।
उनका अनुसार सरकारबाट आयोगलाई आवश्यक स्रोतसाधन, जनशक्ति र भरपर्दो शान्ति–सुरक्षाको व्यवस्था मिलाइनेछ। साथै, निर्वाचनलाई सहज बनाउन राजनीतिक दल र सरोकारवालासँग निरन्तर संवाद र समन्वय गरिने पनि उनले स्पष्ट पारिन्।
आयोगतर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आवश्यक मतपेटिका र अन्य सामग्री मौज्दातमै रहेको जानकारी दिए। मौज्दातमा नभएका सामग्री पनि देशमै उत्पादन गर्न प्राथमिकता दिई प्रतिस्पर्धात्मक तरिकाले खरिद गरिने उनले बताए। साथै, निर्वाचन सुरक्षामा सरकारको दृढ सहयोग आवश्यक रहेको भन्दै उनले आग्रह गरे।
छलफलमा अर्थमन्त्री रामेश्वर प्रसाद खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, कानून न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हा, सरकारका मुख्य सचिव एकनारायण अर्याललगायतका अधिकारीको उपस्थिति थियो। आयोगतर्फबाट आयुक्त डा. जानकीकुमारी तुलाधर, सगुन सम्शेर जबरा र सचिव महादेव पन्थ पनि सहभागी थिए।