वीरेन्द्र केसी,अर्घाखाँची —एमाले जिल्ला कमिटीले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका टोपबहादुर रायमाझीसहित ५ जनालाई आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ ।
मंगलबार सन्धिखर्कमा बसेको बैठकले रायमाझीसहित एमाले जिल्ला अध्यक्ष पिताम्बर भुसाल, विजुला रायमाझी, बोमबहादुर विश्वकर्मा र भोजबहादुर शाहलाई उम्मेदवार सिफारिस गरिएको पार्टीका जिल्ला सचिव तोजबहादुर रायमाझीले जानकारी दिए।
टोपबहादुर दुई वर्षदेखि काठमाडौंको डिल्लीबजार कारागार थुनामा रहेका छन्। सोही प्रकरणमा मुछिएका कांग्रेस नेता बालकृष्ण खाँड थुनामुक्त भए पनि रायमाझी कारागारमै छन्। ‘टोपबहादुर उम्मेदवार बन्न कानुनी सहजता भएमा उहाँ नै हो,’ एमाले जिल्ला सचिव तोजबहादुरले भने, ‘कानुनी असहजता भए वा उहाँले चुनाव लड्न नमानेमा मात्रै अरु विकल्पमा जान्छौं । टोपबहादुर नभए जिल्ला अध्यक्ष पिताम्बर नै उम्मेदवार हुनुहुन्छ ।’
टोपबहादुर २०६४, ०७०, ०७४ को चुनावमा माओवादीबाट र ०७९ मा एमालेबाट निर्वाचित भएका थिए । उनी थुनामा परेपछि जिल्लामा न्यून बजेट भित्रिएकाले पनि मतादाताले सम्झिएको र जित्न सक्ने नेता भएको एमालेको ठप्याई छ। एमाले केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनाथ आचार्यको प्रमुख आतिथ्यतामा भएको बैठकले यो निर्णय गरेको हो ।
एमाले र माओवादी केन्द्र बीच एकीकरणपछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएपछि रायमाझी पुष्पकमल दाहाललाई छाडेर केपी शर्मा ओलीतिर लागेका थिए। उनी एमाले केन्द्रीय सचिव थिए। २०७९ मा जिल्लामा पाँच दलीय गठबन्धनबाट कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वउपसभामुख पुष्पा भुसाल गौतमलाई १७ सय ३० मतान्तरले टोपबहादुरले पराजित गरेका थिए।

