शोभाखर पन्थी-अर्घाखाँची, असार १६ ।
नेकपा एमालेका जिल्ला सचिव तोजबहादुर रायमाझीलाई मातृ शोक परेको छ । उहाँ की आमा भिमकुमारी रायमाझीको आज ६८ बर्षको उमेरमा निधन भएको हो । उहाँ १ बर्ष देखी क्यान्सर रोग बाट पिडित हुनुहुन्थ्यो । उहाँको पार्थिव शरीरलाई आजै सन्धिखर्क-२ स्थित रुब्दी घाटमा अन्तिम श्रद्धाञ्जली अर्पण गरी हिन्दु परम्परा अनुसार दाहासंस्कार गरिएको छ ।
दिवंगत रायमाझीलाई नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद सदस्य नरेन्द्रकुमार क्षेत्रीले पार्टीको झण्डा ओडाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो ।
उहाँको पार्थिव शरीरमा नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद जनार्दन खनाल,एमाले जिल्ला कमिटी अध्यक्ष पीताम्बर भुसाल,नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ठाकुर कुमार बि.क.किशोर,माओवादी केन्द्र जिल्ला समन्वय कमिटीका अध्यक्ष राजेन्द्र भुसाल,राष्ट्रीय जनमोर्चाका नेता शेरबहादुर बि.सी.,जिल्ला अध्यक्ष थम्मन के.सी. लगायत जिल्लामा क्रियासिल राजनीतिक दल,जनप्रतिनिधि,पूर्व जनप्रतिनिधि,संघ संस्थाका प्रमुख , परिवारजन ,आफन्तजन र छरछिमेकीहरुले माला,अबिर तथा पुष्पगुच्छा अर्पण गरेर अन्तिम श्रद्धाञजली अर्पण गर्नु भएको थियो ।
नेकपा एमाले अर्घाखाँचीले आफ्नो पार्टीका अभिभावक भिमकुमारी रायमाझीको निधनले पार्टीलाई अपुरणीय क्षति भएको जनाएको छ । जिल्ला पार्टी अध्यक्ष पीताम्बर भुसालले दिवंगत रायमाझी पार्टीको अभिभावक,समुदायको पथप्रदर्शक र दिन दु:खी तथा गरिवको साहरा भएको बताउनु भयो । आफु र जिला पार्टीले आमाको रुपमा मान्दै आएकी आमाको निधनले आफुलाई निकै मर्माहत बनाएको उहाँको भनाई थियो । अध्यक्ष भुसालले दिवंगत आमाका अधुरा सपना पुरा गर्ने प्रतिबद्धता प्रकट गर्दै पत्नी वियोगमा पर्नु भएका वुवा हुमबहादुर रायमाझी तथा मातृ वियोगमा पर्नु भएका नेकपा एमालेका सचिव तोजबहादुर रायमाझीलगायत संपू्ण परिवारजनमा समवेदना प्रकट गर्नु भएको थियो ।
सनपा-९ निवासी दिवंगत रायमाझी स्थापित महिला समाजसेवी हुनुन्थ्यो । महिला तथा स्थानीय बासिन्दाको मनमा बस्न सफल उहाँको निधनले अहिले सिङ्गो गाउँनै शोकाकुल बनेको छ ।
रायमाझीका श्रीमान्,छोरा र ३ छोरी हुनुहुन्छ ।

