काठमाडौं – संविधान दिवसको मूल समारोहलाई सम्बोधन गर्दै अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले हालै भदौ २३ र २४ मा भएको युवा आन्दोलनलाई मुलुकमा बढ्दो चेतना, भ्रष्टाचारविरुद्धको असन्तोष र नयाँ पुस्ताको चाहनाको प्रतिविम्ब भएको बताइन्।
उनका अनुसार संविधानले दिएको मार्गदर्शनअनुसार सुशासन, समृद्धि र विकासको क्षेत्रमा देखिएका कमजोरी र त्यसबाट जन्मिएको असन्तोषले आन्दोलनलाई उत्प्रेरित गरेको हो।
प्रधानमन्त्री कार्कीले लोकतन्त्रको आधार नै जनताको आवाज सुन्ने, संवाद गर्ने र समाधान गर्ने प्रणाली भएको भन्दै, “यो आन्दोलनलाई म हाम्रो लोकतान्त्रिक स्वास्थ्यसँग पनि जोडेर हेर्छु,” भनिन्।
युवाले उठाएका माग र एजेन्डालाई आत्मसात गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले सरकार जनअपेक्षाअनुरूप काम गर्ने स्पष्ट सन्देश दिइन्।

