काठमाडौं – भ्रष्टाचार र कुशासनविरुद्ध जेनजी विद्रोह भएको १५ दिन नपुग्दै दैलेखमा एक सरकारी कर्मचारी घुससहित हिजो साझ पक्राउ परेका छन् ।
दैलेखको डुंगेश्वर गाउँपालिकाका लेखा अधिकृत टंकबहादुर कार्की एक लाख रूपैयाँ घुससहित पक्राउ परेका हुन् ।
उनले गाउँपालिकाको सडक स्तरोन्नति तथा निर्माण सम्पन्न भएपछि अन्तिम बिल भुक्तानी गर्दा सेवाग्राहीबाट एक लाख रूपैयाँ घुस मागेका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगाल, काठमाडौँ र सुर्खेतबाट खटिएको संयुक्त टोलीले वीरेन्द्रनगर नगरपालिका–९, मंगलगडी चोकबाट कार्कीलाई रकमसहित नियन्त्रणमा लिएको छ। अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार उजुरी र सूचना प्राप्त भएपछि स्टिङ अपरेसनमार्फत उनलाई पक्राउ गरिएको हो।