लक्ष्मी खनाल ,अर्घाखाँची ।
अर्घाखाँचीको भुमिकास्थान -९ भगवती माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ९ देखि १२ सम्मका विद्यार्थीले तीनदिने शैक्षिक अवलोकन भ्रमण सफलतापूर्वक सम्पन्न गरेका छन्।
मंसिर २८ गतेदेखि सुरु भएको तिनदिने भ्रमणमा विद्यार्थी र शिक्षकहरूले आफ्नै पहलमा प्रतिव्यक्ति दुई हजार रुपैयाँ संकलन गरी सहभागिता जनाएका थिए। भ्रमणको पहिलो दिन टोलीले रिडी तिनमुुखे पुल, कालिगण्डकी जलविद्युत आयोजना, बागलुङको प्रसिद्ध कालिका मन्दिर र बागलुङ झोलुङ्गे पुलको अवलोकन गर्यो। दोस्रो दिन उनीहरू पोखराका प्रमुख धार्मिक र पर्यटकिय स्थल पुम्दिकोट, गुप्तेश्वर गुफा, मेट्लाङ, माउन्टेन संग्रहालय, अनौठो सेती खोंच, फेवाताल, तालबाराही मन्दिर र महेन्द्र गुफा पुगे।
तेस्रो दिन मनकामना केबलकारको यात्रा गर्दै मनकामना मन्दिर पूजाआराधना सम्पन्न गरियो। त्यसपछि सीजी क्षेत्रको अवलोकनसहित कार्यक्रम समापन भएको विद्यालयले जनाएको छ।
भ्रमणमा ७० जना विद्यार्थीसहित प्रधानाध्यापक, विद्यालय नर्स, शिक्षक, अभिभावक तथा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरूको सहभागिता थियो। कार्यक्रमले विद्यार्थीलाई मनोरञ्जन मात्र नभई पाठ्यक्रमसँग मेल खाने विषयवस्तु प्रत्यक्ष हेर्ने अवसर प्रदान गरेको र उनीहरूको चौतर्फी विकासमा सहयोग पुग्ने विद्यालय पक्षको अपेक्षा छ।


