अर्घाखाँची । सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले सुपादेउराली मन्दिरको सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा ध्यानाकर्षण गराएका छन् ।
नेपालकै महत्वपूर्ण धार्मिक गन्तव्यका रूपमा चिनिँदै आएको तथा देशभरका प्रमुख धार्मिक स्थलभित्र पर्ने सुपादेउराली मन्दिरमा पछिल्लो समय आर्थिक पारदर्शिता, भेटीघाटी व्यवस्थापन, बलि पुजासँग सम्बन्धित शुल्क लगायत विषयमा सञ्चार माध्यम र सार्वजनिक कार्यक्रमहरूमा प्रश्न उठ्दै आएको सन्दर्भमा नगर प्रमुख श्रेष्ठले स्पष्ट निर्देशन दिएका हुन् ।
हाल मन्दिर संरक्षण समिति गठन नभएको अवस्थालाई ध्यानमा राख्दै १ गतेदेखि लागू हुने गरी लेखापाल शुनिल के.सी. लाई सम्बोधन गर्दै पाँच बुँदे निर्देशन जारी गरिएको छ ।
निर्देशन अनुसार मन्दिरमा चढाइने बलिको मुड बलिदातालाई निःशुल्क फिर्ता दिनुपर्ने, व्यवस्थित लकर जडान नहुँदासम्म भेटीघाटी प्रहरी, जनप्रतिनिधि र स्थानीयको उपस्थितिमा सीसीटीभी निगरानीमा सङ्कलन गरी बैंक खातामा दाखिला गर्नुपर्ने व्यवस्था गरिएको छ ।
त्यसैगरी मन्दिर संरक्षण समिति गठन नहुँदासम्म पुजारी तथा अन्य कर्मचारीलाई भेटी रकमबाट पारिश्रमिक नदिने, मन्दिरलाई आर्थिक दायित्व सिर्जना हुने कुनै पनि कार्य नगर्ने तथा दैनिक सङ्कलित भेटी मन्दिरको वेव पेज तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुपर्ने निर्देशन दिइएका हुन् ।
नगर प्रमुख श्रेष्ठले मन्दिरको धार्मिक गरिमा, जनआस्थाको संरक्षण र आर्थिक पारदर्शिता सुनिश्चित गर्न उक्त कदम चालिएको स्पष्ट गर्दै आवश्यक सहयोग तथा समन्वयका लागि जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीलाई समेत बोधार्थ पठाइएको हो ।

