काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका-७ चाँगाथली क्षेत्रमा गस्तीमा खटिएको प्रहरी टोलीमाथि ढुंगा प्रहार गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक होबिन्द्र बोगटीका अनुसार प्रहरी प्रभाग लुभुबाट खटिएको क्युआरटी टोलीमाथि सोमबार राति केही व्यक्तिले एक्कासी ढुंगा प्रहार गरी आक्रमण गरेका थिए।
‘ड्युटीमा रहेको प्रहरीलाई ढुंगा प्राहार र अश्लिल अपशब्द प्रयोग गरेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले आत्मरक्षार्थ एक राउण्ड हवाई फायर गर्नु पर्यो,’ बोगटीले भने, ‘त्यसपछि थप प्रहरी परिचालन गरी घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया बढाइएको छ ।’
उनका अनुसार घटनामा संलग्न व्यक्तिहरूमाथि जिल्ला अदालतबाट आठ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ । प्रारम्भिक अनुसन्धानमा उनीहरूको राजनीतिक पृष्ठभूमि नदेखिएको प्रहरीले जनाएको छ।

