अर्घाखाँची । नेकपा (एमाले) अर्घाखाँचीका अध्यक्ष पीताम्बर भुसालले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै नवगठित सरकारको कदमप्रति कडा आपत्ति जनाएका छन्।
विज्ञप्तिमा केपी शर्मा ओली र रमेश लेखकलाई कथित कार्की आयोगको प्रतिवेदन कार्यान्वयनको नाममा पक्राउ गरिएको घटनालाई प्रतिशोधपूर्ण र राजनीतिक पूर्वाग्रहबाट प्रेरित कार्यको रूपमा व्याख्या गरिएको छ। एमाले अर्घाखाँचीले यस्तो कदमले मुलुकलाई द्वन्द्व र मुठभेडतर्फ धकेल्ने खतरा रहेको जनाएको हो।
भदौ २३ गते भएको प्रदर्शनका क्रममा भएको जनधनको क्षतिबारे निष्पक्ष छानबिन हुनुपर्नेमा आफूहरू सधैं स्पष्ट रहेको जनाउँदै, उक्त घटनालाई विध्वंसात्मक बनाउने घुसपैठ, लुटपाट र आगजनीका घटनाको वास्तविकता बाहिर ल्याउनुपर्नेमा जोड दिइएको छ। तर, नागरिक जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको आयोगले पूर्वाग्रहपूर्ण ढंगले प्रतिवेदन तयार पारेको आरोप लगाइएको छ।
विज्ञप्तिमा कार्की आयोग निष्पक्ष छानबिनका लागि नभई तत्कालीन राजनीतिक नेतृत्वको चरित्र हत्या गर्ने उद्देश्यले गठन गरिएको ठहर गरिएको छ। साथै, उक्त प्रतिवेदनलाई असंवैधानिक, पूर्वाग्रही र घृणाको राजनीति संस्थागत गर्ने प्रयासका रूपमा व्याख्या गरिएको छ।
एमाले अर्घाखाँचीले सरकारको पछिल्लो कदमलाई लोकतान्त्रिक तथा कम्युनिष्ट आन्दोलनमाथिको “नाङ्गो प्रहार” भन्दै कडा शब्दमा निन्दा र भर्त्सना गरेको छ। पक्राउ परेका नेताहरूलाई तत्काल रिहा गर्न तथा यस्ता प्रतिशोधपूर्ण कार्यहरू बन्द गर्न सरकारसँग माग गरिएको हो।
साथै पार्टीले सम्पूर्ण नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुकहरूलाई सरकारको उक्त कदमविरुद्ध आन्दोलन र संघर्षका लागि तयार रहन आह्वान समेत गरेको छ।
प्रेस विज्ञप्ति :


