निम्ब तरु , अर्घाखाँची ।
यो देश
अब आवाजले होइन,
मृत आत्माहरूको मौन जुलुसले चल्छ।
यहाँ सत्य बोल्नु
आत्महत्या गर्नुजस्तै हो,
र झूट बोल्नु
राष्ट्रिय कर्तव्यजस्तै।
सडकहरू चिच्याइरहेका छन्
रगतले धुन खोज्दै
पुराना नारा,
तर मानिसहरू
मोबाइलको स्क्रिनभित्र लुकेर
आफ्नो डर स्क्रोल गरिरहेका छन्।
पिन ड्रप साइलेन्स छ यहाँ
किनकि आवाजहरू
धेरै अघि नै
लिलामीमा बेचिएका छन्।
पहाडहरू साक्षी छन्
कति क्रान्तिहरू
पोस्टरमै गाडिए,
कति सहिदहरू
भाषणको फूलदानीमा सुकाइए।
गाउँका बूढा पीपलहरू
अहिलेसम्म सम्झन्छन्
कसरी इतिहास
माटोबाट जन्मिन्थ्यो,
तर आज
इतिहास फाइलमा बन्द छ,
र वर्तमान
कुनै अफिसको टेबलमुनि
घुस जस्तै सरिरहेको छ।
किसानको पसिनाले
धान उम्रिन्छ,
तर उसको भागमा
भोक उम्रिन्छ।
उसको चुप्पी
सबैभन्दा क्रुर दर्शन हो —
जहाँ श्रमले जीवन जन्माउँछ,
तर श्रमिक
मृत्यु पाल्छ।
शहरहरू
कंक्रीटका चिहान बनेका छन्,
जहाँ मानिसहरू
जिउँदै गाडिएका छन्
इएमआई, बेरोजगारी
र बनावटी मुस्कानको ढुंगामुनि।
अस्पतालहरू
मन्दिर जस्ता छन्,
जहाँ देवता पैसा हो,
र प्रार्थना
रोगीको सासले होइन,
एटीएमको ब्यालेन्सले सुनिन्छ।
त्यहाँ
मृत्यु पनि
निःशब्द प्रवेश गर्छ
पिन ड्रप साइलेन्समा।
विद्यालयहरूमा
बालकहरूलाई
अक्षर सिकाइन्छ,
तर सोच्न नपर्ने कला
झन् राम्रोसँग सिकाइन्छ।
किनकि सोच्ने मानिस
राज्यका लागि
रोग हो।
राजनीति यहाँ
नाटक होइन,
नाटकको शव हो,
जसको दुर्गन्ध
हामी देशभक्ति भनेर सुँघिरहेका छौँ।
सबैलाई थाहा छ
हामी डुबिरहेका छौँ,
तर कोही चिच्याउँदैन
किनकि डुब्नु
अब सामूहिक संस्कार भइसकेको छ।
यो मौनता
शान्ति होइन,
यो त
भयले काटिएको जिब्रोहरूको
सामूहिक समाधि हो।
र हामी
जसले आफूलाई जीवित भन्छौँ,
वास्तवमा
हिँडिरहेका लाश हौँ,
जो मतदान गर्छन्,
कर तिर्छन्,
र अन्त्यमा
आफ्नै मौनतामा
गुमनाम दफन हुन्छन्।
यो देश
अब भूगोल होइन,
यो त
पिन ड्रप साइलेन्सले लेखिएको
एउटा निष्कर्ष हो
जहाँ जीवनको अर्थ
केवल
बाँचिरहनु हो,
बोल्नु होइन।

