अर्घाखाँची । अर्घाखाँचीमा सातौँ अर्घाखाँची महोत्सव आयोजना हुने भएको छ।
अर्घाखाँची चेम्बर अफ कमर्सको आयोजनामा यही पौष २७ गतेदेखि माघ ११ गतेसम्म जिल्ला सदरमुकाम सन्धिखर्कमा कृषि, पर्यटन, संस्कृति, औद्योगिक तथा व्यापार मेला सातौँ अर्घाखाँची महोत्सव २०८२ सञ्चालन हुन लागेको हो।
महोत्सवमार्फत जिल्लाका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको प्रचार–प्रसार गर्नुका साथै स्थानीय कृषि उपज, हस्तकला, घरेलु तथा साना उद्योगका उत्पादनलाई बजारसँग जोड्ने मुख्य उद्देश्य राखिएको आयोजकले जनाएको छ। महोत्सवलाई जिल्लाको साझा उत्सवका रूपमा सफल बनाइने तयारी गरिएको छ।
सुपा देउराली, पाणिनी तपोभूमि, अर्घा भगवती, मालारानी मन्दिर, छत्रमहाराज मन्दिर, भुमे मन्दिरजस्ता प्रमुख पर्यटकीय गन्तव्यको प्रचार गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्य लिइएको छ। साथै भैरव नाच, सरायँजस्ता मौलिक संस्कृतिको जगेर्नासँगै लोकनृत्य, लोकगीत, भेषभूषा, भाषा र परम्परागत संस्कृतिको संरक्षण तथा प्रवर्द्धन पनि महोत्सवका प्रमुख उद्देश्यमा समेटिएको छ। सर्वसाधारणको लागि टिकट शुल्क रु.९०, विद्यार्थीको लागि रु.५० र अपांग तथा वृद्धहरुको लागि निशुल्क रहेको बताएको हो ।
विगतमा अर्घाखाँची उद्योग वाणिज्य संघसँग भएको आलोपालो महोत्सव सञ्चालन गर्ने सहमति अनुसार केही दिनअघि जिल्ला समन्वय समितिको हलमा बसेको सर्वपक्षीय बैठकको म्यान्डेटका आधारमा यस वर्ष अर्घाखाँची चेम्बर अफ कमर्सले महोत्सव आयोजना गर्न लागेको जनाइएको छ।
यसै सन्दर्भमा चेम्बर अर्घाखाँचीका अध्यक्षको संयोजकत्वमा १०१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ भने विभिन्न उपसमितिहरू समेत निर्माण गरिएको जानकारी पत्रकार सम्मेलनमार्फत दिइएको हो। आयोजकले महोत्सवलाई सबै पक्षको सहकार्यमा भव्य र सफल बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

