अनिल नेपाली, अर्घाखाँची – राष्ट्रिय दलित पत्रकार संघ नेपाल लुम्बिनी प्रदेशको आयोजना तथा अर्घाखाँची शाखाको समन्वयमा सन्धिखर्कमा खुला तीज गीत प्रतियोगिता तथा बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा सात वटा समूह तथा विद्यालयहरूको सहभागिता रहेको थियो। प्रतियोगितामा सन्धिखर्क नगरपालिका–१ स्थित गौरीशंकर बोर्डिङ स्कूल प्रथम, भूमिकास्थान नगरपालिका–९ स्थित भगवती माध्यमिक विद्यालय द्वितीय, मालारानी गाउँपालिका–५ स्थित लालीगुराँस आमा समूह तृतीय भएका छन्। त्यस्तै, सन्धिखर्क नगरपालिका–२ स्थित भद्रिगोला आमा समूहले सान्त्वना स्थान हासिल गरेको थियो।
विजेताहरूलाई सन्धिखर्क नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठलगायत अतिथिहरूले नगद र प्रमाणपत्रसहित सम्मान गरेका थिए। प्रतियोगितामा महिलाको अधिकार, संविधान कार्यान्वयनमा महिलाको भूमिका, महिलामाथि हुने हिंसा र सामाजिक बेथितिविरुद्धका सन्देशयुक्त गीत प्रस्तुत गरिएको थियो। “महिला कमजोर होइनन्, कमजोर बनाए पनि उठ्छन्” भन्ने सन्देशले कार्यक्रममा विशेष प्रभाव पारेको थियो।
कार्यक्रममा राष्ट्रियस्तरका कलाकार लोकगायक नारायण बीपी परियार, सम्झना रणपाल, विष्णु श्रीपाली, वरिष्ठ नृत्याङ्गना बविता धिताल, गायक तथा सर्जक धनराज चुनारा लगायतले प्रस्तुति दिएका थिए।
कार्यक्रमका विशेष अतिथिमा सन्धिखर्क नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल, नेपाल विद्युत प्राधिकरण अर्घाखाँची वितरण केन्द्र प्रमुख तिलोचन भट्टराई, नेकपा एमालेका जिल्ला उपाध्यक्ष शम्भु पोखेल, नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा जिल्ला सह–इन्चार्ज छमकुमारी खनाल, नेकपा (एस) का अध्यक्ष रामबहादुर चौहान, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला अध्यक्ष हरि भुसाल, सन्धिखर्क नगरपालिका–१ का वडाध्यक्ष माधव श्रेष्ठ, ७ का वडाध्यक्ष चुरा बहादुर केसी, पत्रकार महासंघ लुम्बिनी प्रदेश कोषाध्यक्ष प्रेमनारायण आचार्य, जिल्ला अध्यक्ष गणेश खनाल, पूर्व अध्यक्ष शोभाखर पन्थी, दलित पत्रकार संघका केन्द्रीय सदस्य चिन्ता परियार, प्रगतिशील पत्रकार संघका केन्द्रीय सचिव गोपाल भट्टराईलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, कर्मचारी संघसंस्थाका प्रमुख, पत्रकार, समाजसेवी, बुद्धिजीवी तथा संगीतप्रेमीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रम लुम्बिनी प्रदेश अध्यक्ष टेकबहादुर बस्यालको अध्यक्षता, सचिव अनिल नेपालीको सञ्चालन र केन्द्रीय सदस्य राधा नेपालीको स्वागत मन्तव्यमा सम्पन्न भएको हो।