कमला घिमिरे,पाणिनी-अर्घाखाँची । नागरिक टेलिभिजनको पहिलो वार्षिकोत्सव कार्यक्रम पाणिनी गाउँपालिकामा भव्य तथा उत्साहजनक वातावरणमा सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता संगिता पोख्रेलले गर्नुभएको थियो भने प्रमुख अतिथिको रूपमा पाणिनी गाउँपालिका अध्यक्ष टेकराज न्योपानेको उपस्थिति रहेको थियो। त्यसैगरी, विशिष्ट अतिथिका रूपमा उपाध्यक्ष नर्मदा पौडेल गौतम सहभागी हुनुभएको थियो।
कार्यक्रममा गाउँपालिकाका प्रशासकीय अधिकृत सुवर्ण खनाल, प्रतिनिधिहरू अच्युत गौतम, लक्ष्मी गौतम लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। साथै, पत्रकारहरू, विभिन्न वडाका अध्यक्षहरू तथा विज्ञापनदाताहरूको उपस्थितिले कार्यक्रमलाई अझ विशेष बनाएको थियो।
कार्यक्रमको सञ्चालन भिम बिकले गर्नुभएको थियो भने स्वागत मन्तव्य कमला घिमिरेले व्यक्त गर्नुभएको थियो। कार्यक्रममा बोल्ने वक्ताहरूले नागरिक टेलिभिजनले छोटो समयमै समाजमा पुर्याएको योगदानको खुलेर प्रशंसा गरेका थिए। सूचना प्रवाह, स्थानीय मुद्दाको उठान तथा जनचेतना अभिवृद्धिमा संस्थाले खेलेको भूमिकालाई विशेष रूपमा सराहना गरिएको थियो।
सो अवसरमा विभिन्न विज्ञापनदाताहरूलाई सम्मान समेत गरिएको थियो। संस्थाको प्रगतिमा योगदान पुर्याएको भन्दै उनीहरूलाई कदरपत्र प्रदान गरिएको थियो, जसले सञ्चार र व्यवसायिक क्षेत्रबीचको सहकार्यलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।
कार्यक्रममा बोल्दै अच्युत गौतमले नागरिक टेलिभिजनले स्थानीय समाचारलाई प्राथमिकतामा राख्दै जनताको आवाज बुलन्द बनाएको उल्लेख गर्नुभयो। उहाँले सञ्चार माध्यमले समाजलाई सही दिशा दिन महत्वपूर्ण भूमिका खेल्ने बताउँदै निष्पक्ष र तथ्यमा आधारित पत्रकारितामा अडिग रहन आग्रह गर्नुभयो।
त्यसैगरी, प्रमुख अतिथि टेकराज न्योपानेले सञ्चार माध्यमलाई स्थानीय सरकार र जनताबीचको सेतुका रूपमा व्याख्या गर्दै नागरिक टेलिभिजनले गाउँपालिकाका गतिविधि र जनचासोका विषयलाई प्राथमिकतामा राखेकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा सञ्चार क्षेत्रलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
उहाँले विकास निर्माणका कामलाई पारदर्शी बनाउन तथा जनतालाई सूचित गर्न सञ्चार माध्यम अपरिहार्य रहेको उल्लेख गर्दै सबैको सहकार्यमा स्थानीय विकासलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो।
समग्रमा, नागरिक टेलिभिजनको पहिलो वार्षिकोत्सव कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमले सञ्चार, स्थानीय सरकार र व्यवसायिक क्षेत्रबीचको सहकार्यलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।

