काठमाडौं – नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई लक्षित गर्दै तीव्र आलोचना गरेका छन्।
भक्तपुरको गुण्डुस्थित निवासमा आयोजित युवा र विद्यार्थी भेटघाट कार्यक्रममा ओलीले भने, “जो पहिलेदेखि नै सिंहदरबार जलाउँछु भन्थे, उनीहरूकै योजनामा यो घटना भएको हो।”
उनले देशप्रेमीले यस्तो हिंसात्मक कार्य गर्न नसक्ने भन्दै थपे, “जसले देश र इतिहास माया गर्छ, उसले सिंहदरबार जलाउँदैन।”
ओलीले हालैको घटनाले नेपालको छवि अन्तर्राष्ट्रिय स्तरमा धमिलो भएको र विदेशमा नेपालीलाई भिसा तथा रोजगारी पाउनसमेत कठिनाइ भएको दाबी गरे।
उनले युवालाई सक्रिय र सकारात्मक सोचसहित अघि बढ्न आह्वान गर्दै बाह्य हस्तक्षेप र षड्यन्त्रबाट सचेत रहन आग्रह गरे। ओलीले जोड दिए, “नेपालको लोकतन्त्र, गणतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षा अब सचेत युवाहरूको काँधमा छ।”