वीरेन्द्र केसी, अर्घाखाँची । वकालत, प्राध्यापन हुँदै उपसभामुख ओहोदामा पुगिन् । थुप्रैपटक जिल्लाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनिन् । कहिले सफल भइन् त कहिले विफलता हात लाग्यो । तर, उनले संघर्षको बाटो भुलिनन् । त्यसैको प्रतिफल अर्घाखाँचीकी पुष्पा भुसाल गौतम पुस अन्तिम साता काठमाडौंको भृकुटीमण्डपमा भएको नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट उपसभापतिमा निर्वाचित भइन् ।
पार्टी उपसभापतिसम्मको यात्रा उनका लागि सहज थिएन । जेनजी आन्दोलनपछि मुलुककै पुरानो पार्टीमा पनि रूपान्तरणको कुरा जोडतोडले उठ्न थाल्यो । तत्कालीन समय संस्थापन निकट भुसालसहित ३० जना केन्द्रीय सदस्यले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनपूर्व पार्टीको नियमित महाधिवेशन हुनुपर्ने मत राखेका थिए ।
कांग्रेसको संस्थापन पक्ष नियमित महाधिवेशनको बाटोमा नजाने प्रस्ट भएपछि पूर्व पार्टी सभापति शेरबहादुर देउवासितको सहयात्रा तोडेर ६५ वर्षीय भुसाल गगन थापा र विश्वप्रकाश शर्मा समूहमा खुलिन् । उनको त्यही निर्णयले विशेष महाधिवेशनबाट कांग्रेस उपसभापति बन्ने बाटो खुल्यो । उनी शैलजा आचार्यपछि उपसभापति हुने दोस्री महिला हुन् ।
भुसाल २०१७ फागुन १ मा अर्घाखाँचीको पोखराथोकमा जन्मिएकी हुन् । उनका पिता कांशीनाथ गौतम २०१५ सालमा बीपी कोइराला नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री थिए । ०१७ सालमा प्रजातन्त्र खोसिएपछि कांशीनाथ स–परिवार १४ वर्ष भारतमा बसे । भारत बसाइँका क्रममा राजनीति बुझ्न थालेकी भुसालले ०३६ सालमा नेपाल विद्यार्थी संघको सदस्य भएर राजनीतिक यात्रा सुरु गरिन् ।
यस अवधिमा उनी नेपाल बार एसोसिएसनको केन्द्रीय सदस्य, ट्रेड युनियन कांग्रेसकी सल्लाहकार, पार्टीको कानुनी सल्लाहकार समिति सदस्य, महिला विभाग सदस्य हुँदै नेपाल महिला संघको दुई कार्यकाल महासचिव बनिन् । तत्कालीन कांग्रेस नेता खुमबहादुर खड्काको सहयोगमा ०५६ सालमा अर्घाखाँची–२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनिन् ।
त्यसबेला एमाले–राष्ट्रिय जनमोर्चा गठबन्धनका उम्मेदवार डा. डिल्लीराज खनालसँग पराजित भइन् । ०६४ को पहिलो संविधानसभा सदस्य निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भइन् । २०७० सालमा क्षेत्र नं २ बाट उम्मेदवार बनेकी उनी एमालेका डा. दुमनसिंह थापासँग पराजित भइन् । त्यसपछि ०७४ मा समानुपातिक सांसद बनेर उपसभामुख बनिन् । ०७९ सालमा कांग्रेस–माओवादीसहितको पाँचदलीय गठबन्धनबाट उम्मेदवार बनेकी थिइन् । तर, एमालेका टोपबहादुर रायमाझीसँग पराजित भइन् ।
यसपटक पनि फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक रोजेकी थिइन् । जिल्लाबाट सिफारिस भए पनि कांग्रेस केन्द्रले ०६४ देखि ०७९ को चुनावसम्म समानुपातिकमा अवसर पाइसकेका नेतालाई नदोहोर्याउने मापदण्ड बनाएपछि उनी बन्द सूचीमा परिनन् । भुसालले ०६३ सालमा अन्तरिम संविधान मस्यौदा समिति र ०६४ को संविधान मस्यौदा समितिमा रहेर सक्रिय भूमिका निर्वाह गरेकी थिइन् ।
यसअघि उनी कांग्रेसको १२, १३ र १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् । लामो समय देउवा निकट भुसाल तत्कालीन संस्थापन पक्षले गत भदौ तेस्रो साता भएको जेनजी आन्दोलनलाई केही होइन जस्तो गर्न थालेपछि आफू अलग्गिएर हिँडेको बताउँछिन् । विशेष महाधिवेशन उद्घाटन सत्रमा नेता शैलजालाई सम्झिँदै कांग्रेसलाई वाम गठबन्धनबाट मुक्त बनाउनु पर्ने बताएकी थिइन् ।
जनताको कांग्रेस बनाउनु पर्ने भन्दै शैलाजाले भनेजस्तै दूबोसरी फैलिने पार्टी बनाउनुपर्ने उद्घोष गरिन् । विद्यार्थीकालदेखि उनको ५० वर्षे राजनीतिक यात्राका क्रममा अहिले कांग्रेसको तेस्रो वरीयतामा छन् । अर्घाखाँचीबाट कुनै पनि राजनीतिक दलमा उच्च पदमा पुग्ने भुसाल पहिलो नेता बनेकी छन् । यस्तो उपलब्धिले जिल्लाका नेता–कार्यकर्तामा उत्साह थपिएको कांग्रेस जिल्ला उपसभापति विष्णुप्रसाद भुसालले बताए ।

